close

काेराेनाकाे तेस्राे लहरसँग जुध्न बाँकेका स्थानीय तहकाे तयारी यस्ताे छ !(भिडियो खबर) 

काेराेनाकाे तेस्राे लहरसँग जुध्न बाँकेका स्थानीय तहकाे तयारी यस्ताे छ !(भिडियो खबर) 

ADVERTISEMENT

बाँके- विपद बाजा बजाएर आउँदैन । यो विश्वव्यापी मान्यता हो । कसरी आउँछ ? आउनुपूर्व किन सन्देश दिँदैन ? यसको जवाफ कसैले पनि पाउन सकेका छैनन् । यसका बीच हामीले विपद्लाई सहनुको विकल्प हुँदैन । जसरी विपद् आउँछ त्यसरी नै ठूलो सन्देश दिएर जान्छ, यो भने सत्य हो ।

 

कोरोना महामारीले पनि निकै ठूलो पाठ सिकाएको छ । अझ, दोस्रो लहरले त धेरैलाई महामारीलाई कम आँक्नु हुँदैन भन्ने सिकाएको छ । दोस्रो लहरको चपेटामा परेको जिल्ला बाँके अहिले पाठ सिकेर होला महामारी नियन्त्रणको तयारीमा जुटेको छ । कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी आएसँगै बाँकेका स्थानीय तह अस्पताल निर्माण, आइसोलेसन बनाउनेतर्फ बढी केन्द्रित हुन थालेका छन् । 

 

बाँके जिल्लामा सम्भावित कोभिड-१९ को तेस्रो लहरबाट ३ लाख ३३ हजार तीन सय ८७ जना प्रभावित हुनसक्ने आकलन गरिएपछि स्थानीय तहले सम्भावित जोखिमलाई मध्येनजर गर्दै तयारी थालेका छन् । तेस्रो लहरको जोखिम पोष्ट कोभिडको प्रभाव र व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित समितिले सार्वजनिक गरेको ४३ पृष्ठ लामो प्रतिवेदनमा १८ वर्षमूनिका दुई लाख ६४ हजार सात सय ६३, एक वर्ष मूनिका १२ हजार तीन सय ७५, संभावित गर्भवति १५ हजार ३३ र ६० वर्ष माथिका ५३ हजार पाँच सय ९१ जना प्रभावित हुनसक्ने आँकलन गरेपछि यहाँका स्थानीय तहले पुर्व तयारी थालेका हुन् ।

 

तेस्रो लहरको पूर्व तयारी स्वरुप बाँकेको कोहलपुर नगरपालिकाले निःशुल्क एन्टिजेन परीक्षण सुरु गरेको छ । आफ्नो २५ शय्याको अस्थायी अस्पताल सञ्चालन गर्ने भएको छ । थप स्वास्थकर्मी आवश्यक पर्ने हुनाले पालिकाले स्वास्थकर्मीका लागि दरखास्त आह्वान गरिसकेको छ । 

 

पहिलो र दोस्रो लहरबाट थुप्रै कुराको अभावको अनुभव गरेको बैजनाथ गाँउपालिकाले अहिले बेलैमा तेस्रो लहरको पूर्व तयारी थालेको छ । कोरोना संक्रमणको दोस्रो लहरका बेला अक्सिजनको सबैभन्दा बढी आवश्यकता परेपनि अभाव झेलेको पालिकाले तेस्रो लहरका लागि अक्सिजन र आवश्यक अन्य उपकरणको खरिद प्रक्रिया अघि बढाएको छ ।

 

बाँके जिल्ला लगायत पश्चिम क्षेत्रकै कोरोनाका विरामी रिफर भएर आउने ठाँउ भनेको बाँकेस्थित भेरी अस्पताल हो । यो अवस्थालाई मध्येनजर गर्दै भेरी अस्पतालले पनि आवश्यक तयारी थालेको छ । भेरी अस्पतालमा विगतमा संचालनमा रहेको हल डि. लाई कोभिड १९ संक्रमित बालबालिकाको उपचारका लागी बाल चिकित्सा वार्डका रूपमा रूपान्तर गरिएको छ । यस्तै, जिल्लामा रहेका बालरोग विशेषज्ञहरुको रोस्टर तयार गरी उनीहरुलाई आवश्यक परेको ठाउँमा खटाउने पनि निणर्य यसअघि नै भइसकेको छ । 

 

बालबालिका बढी प्रभावित हुने आकलन गरिएको तेस्रो लहरमा बालबालिका विशेष स्वास्थ्यकर्मी र उपकरणको भने अभाव छ । यसर्थ बाँकेका कोरोना विशेष अस्पताल भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र वेष्टर्न हष्पिटलमा जनशक्ती, बेड र उपकरण पर्याप्त मात्रामा उपलब्ध गराउन आवश्यक छ ।