close

चुलाचुली पालिकामा कोरोना संक्रमितको उपचार सित्तैमा 

चुलाचुली पालिकामा कोरोना संक्रमितको उपचार सित्तैमा 

Trulli
ADVERTISEMENT

इलाम– इलामको चुलाचुली गाउँपालिकाले कोरोना संक्रमितको निःशुल्क उपचार गरिरहेको छ । उपचारमा गाउँपालिकाले २५ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको बताएको छ ।

 

गाउँपालिकाका अनुसार अस्पतालमा मेडिकल अधिकृत डाक्टर नभए पनि अन्य स्वास्थ्यकर्मीले नियमित बिरामीको स्वास्थ्य जाँच र उपचार गरिरहेका छन् । 

गाउँपालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा ५२ कोरोना संक्रमितलाई निको पारेर घर पठाएको स्वास्थ्य शाखाका प्रमुख जनस्वाथ्य निरीक्षक दुश्यन्त दाहालले जानकारी दिए ।

 

गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिमार्फत संक्रमितलाई यातायात, खाने बस्ने, बिरामी र कुरुवासँगै औषधोपचार निःशुल्क गरिरहेको स्वास्थ्य शाखा प्रमुख दाहालले बताए ।

 

गाउँपालिकाले वडा नम्बर ३ को पेल्टीमारीस्थित सामुदायिक भवनमा सञ्चालन गरिरहेको अस्पतालमा १५ वटा आइसोलेसन बेड छन् । कोरोना संक्रमितका लागि अक्सिजनका १५ सिलिन्डरसहित ६ वटा कन्सन्ट्रेटर तयारी अवस्थामा राखिएको छ ।


कोभिड अस्पतालमा अहिले दुई जना हेल्थ असिन्टटेन्ट, एक÷एक जना अहेब एवं स्टाफ नर्स र दुई जना अनमीको भरमा सञ्चालन भइरहेको छ । अस्पतालमा एमबिबिएस डाक्टरसहित स्वास्थ्यकर्मी हुनुपर्ने भए पनि सेवा–सुविधा अभावमा चिकित्सक ल्याउन नसकिएको गाउँपालिकाले जनाएको छ ।

 

स्वास्थ्य अवस्था सामान्य भएका संक्रमितलाई होम आइसोलेसनमा राखेर स्वास्थ्यकर्मीबाट नियमित निगरानीमा उपचार गरिँदै आएको छ । स्वास्थ्यमा जटिलता भएका संक्रमितको उपचार भने अस्थायी कोभिड अस्पतालमा गरिरहेको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले जानकारी दिए ।

 

कोरोनाको तेस्रो लहर आउने अनुमानसँगै गाउँपालिकाले आवश्यक पूर्वाधारसहित एक्सरे मेसिन, संक्रमितको थप उपचारका सामग्री भिडियो एक्सरे, इसिजी मेसिन र प्रयोगशाला सेवा थप्ने योजना रहेको उनले बताए ।

 

कोरोनाले २० को मृत्यु, ४ सय बढी संक्रमित

चुलाचुली गाउँपालिकामा ७ भदौसम्म कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने ४ सय जना पोजेटिभ देखिएका छन् । दोस्रो लहर सुरु भएपछि कोरोनाको लक्षण देखिएका १ हजारको परीक्षण गरिसकेको गाउँपालिकाले जनाएको छ । 

 

मानवीय क्षति बढेपछि गाउँपालिकाले स्वास्थ्य मापदण्ड पालन भए\नभएको कडाइपूर्वक अनुगमन गर्दै कोरोना परीक्षणको दायरा फराकिलो बनाउँदै लगेको छ । 

 

पहिलो लहरमा कोरोना संक्रमितको संख्या नगन्य भएको चुलाचुलीमा दोस्रो लहरमा संक्रमितको संख्या बढेसँगै गाउँपालिकाले नियन्त्रणका लागि परीक्षणको दायरा बढाएको हो ।

 

झापासँग सीमा जोडिएको चुलाचुलीमा कोरोना संक्रमितको संख्या बढेपछि स्वास्थ्य मापदण्ड लागू गरी कडाइसाथ अनुगमन भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।