close

स्थानीय तहको कमजोर तयारीले खोपमा पहुँचवालाकै दबदबा

स्थानीय तहको कमजोर तयारीले खोपमा पहुँचवालाकै दबदबा

Trulli
ADVERTISEMENT

ओखलढुंगा– कोरोना संक्रमणको जोखिम बढिरहँदा सहरी क्षेत्रमै अनुशासन उल्लंघनदेखि संक्रमण लुकाउनेसम्मका समस्या रहेको देखिएको छ । ओखलढुंगामा १ सय ८३ सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये १ सय ७७ घरैमा छन् ।

 

स्वास्थ्यमा समस्या देखिएपछि मात्रै उपचारका लागि जाने, लक्षण देखिँदा लुकाउने क्रम बजार क्षेत्रमै बढी पाइएको सिद्धिचरण नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठले बताए । उनका अनुसार बजार क्षेत्रमा मास्क प्रयोग गर्ने, भीडभाड कम गर्ने विषयमा स्थानीय जानकार भएर पनि पालना गरेका छैनन् ।

 

मानव अधिकार आयोग प्रदेश शाखा कार्यालय खोटाङका उप–सचिव श्यामबाबु काफ्ले भन्छन्, ‘मापदण्ड पालना गर्ने काम शून्यप्राय देखियो । सरकारी निकायको पनि कमजोरी देखिन्छ ।’उनले सरकारी निकायमा कोरोनाको जोखिम कम गर्न पूर्वतयारी अपनाउने विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको बताए ।

 

स्थानीय तहका कमजोर तयारी 

कोभिड–१९ को संक्रमण रोक्न स्थानीय सरकारको तयारी भने कमजोर रहेको देखिएको छ । जनशक्ति परिचालन, सेवा सुविधा वितरण तथा प्रशस्त औषधी व्यवस्थापनको काममा चासो दिएको पाइँदैन । कोभिडको जोखिममा खटिने कर्मचारीलाई थप सुविधा नदिँदा पनि सेवा प्रवाह सुस्त भएको पाइएको छ । 
नाम नखुलाउने सर्तमा एक स्वास्थ्यकर्मी भन्छन्, ‘जोखिम मोलेर काम ग¥यो सुविधा केही छैन, किन जोखिम मोल्ने ?’

 

पूर्वतयारीबारे सिद्धिचरणका नगरप्रमुख भने यो कुरा स्वीकार गर्दैनन् । अघिल्लो वर्ष सेवा सुविधा दिँदा विवाद आएपछि अहिले नदिएको भन्दै उनले पालिकाले पूर्वतयारीका सबै काम गरेको दाबी गरे । 

 

कोभिड–१९ रोकथाम नियन्त्रणका लागि कोष बनाएको, कोरोनासम्बन्धी सामग्री खरिद, नगरबासी संक्रमित भए अस्पताल लैजान गाडी भाडामा लिएर सेवा दिएकोलगायत काम भएको उनले जानकारी दिए ।


यद्यपि सरकारले दिने सबैखाले निःशुल्क औषधी स्वास्थ्य संस्थामा अभाव भएको भन्दै स्वास्थ्यकर्मीले फर्काउने गरेका छन् । जिल्लाका अन्य पालिकामा पनि समस्या उस्तै छ । अस्थायी कोभिड अस्पताल छन् तर नागरिकको विश्वास छैन । पालिकाका कोभिड अस्पतालमा हाल बिरामी भर्ना नभएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्राज पन्तले बताए ।

 

खोपमा पहुँचवालाकै दबदबा


जिल्लामा सञ्चालन गरिएको खोप अभियानमा पनि पहुँचवालाको दबदबा देखिएको छ । पहुँच हुने समूहले विभिन्न समूहका नाममा निश्चित संख्या किटेरै सो समुदायमा खोप लगाइएको छ । तर, सरकारले तोकेका लक्षित वर्गका केहीले पाए भने केही खोप लगाउनबाट छुटेका छन् ।

 

जिल्लामा लगाइएको जोन्सन एन्ड जोन्सन खोपमा लक्षित वर्गभन्दा अन्य उमेर समूहका व्यक्तिले खोप लगाएका छन् । उनीहरूले पहुँचका आधारमा खोप लगाएको आफैंले बताए । उक्त खोप लगाएका एक युवाले भने, ‘पहुँच हुने जुनसुकै उमेरका व्यक्तिले पनि खोप लगाएका छन्, मैले पनि लगाएँ ।’ 

 

तर, यसले लक्षित वर्ग भने छुटेका छन् । भेरोसेल खोपमा समेत यस्तै समस्या देखिएको गुनासो आएको छ । नागरिकको माग सम्बोधन गर्न स्थानीय तहलाई खोप खरिद गर्ने अधिकार दिनुपर्ने जनप्रतिनिधिको माग छ । सिद्धिचरणका नगरप्रमुख भन्छन्, ‘हामीलाई खोपको समस्या हो । कि चाहिने जति सरकारले देओस् कि हामीलाई किन्न अधिकार दिनुपर्छ ।’