close

इलाममा बढ्दै स्वास्थ्य बिमाको आकर्षण 

इलाममा बढ्दै स्वास्थ्य बिमाको आकर्षण 

Trulli
ADVERTISEMENT

इलाम– पछिल्लो समय इलाममा स्वास्थ्य बिमाको पहुँच बढ्दै गएको पाइएको छ । गरिब, विपन्न समुदायले स्वास्थ्योपचार गर्दा महँगो खर्च गर्न नसक्ने अवस्था अहिले हट्दै गएको छ । यसको कारण हो, स्वास्थ्य बिमामा पहुँच ।

 

कोही बिरामी देखे, भेटेमा इलामका धेरैजसोले हिजोआज स्वाथ्य बिमाबारे चासो लिने गरेका छन् । उनीहरूको प्रश्न हुने गर्छ, स्वास्थ्य बिमा गरेको छ ? बिरामी र आफन्तलाई बिमा गराएर समयमै उपचारको गर्न मौखिक सल्लाहसमेत दिन्छन् । 

 

बिरामी उपचार गर्न प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा पुगे स्वास्थ्यकर्मीको प्रश्न पनि उही हुने गर्छ । सोही कारण सर्वसाधारणमा स्वास्थ्य बिमाको आर्कषण बढ्दै गएको हो । इलाममा १ लाख ३ हजार २५६ जनाले स्वास्थ्य बिमा गराएका छन् । २ लाख ९० हजार २५४ जनसंख्या भएको इलाममा ३६ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएको सरकारी तथ्यांक छ ।

 

६४ हजार ५ सय २ घरधुरी रहेको जिल्लाको तथ्यांकलाई आधार मान्ने हो भने प्रत्येक घर धुरीमा स्वास्थ्य बिमाको पहुँच पुगेको देखिन्छ । कम खर्चमै विभिन्न स्वास्थ्य समस्याको उपचार सेवा लिन सकिने भएकाले स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै गएको हो । बिमाले सर्वसाधारण आइपर्ने उपचारमा सहज पहुँचसमेत बन्दै गएको छ ।

 

पाँच जनासम्मको परिवारले १ लाख र प्रत्येक थप सदस्य बराबर २० हजार रुपैयाँको दरले सेवाको दर बढ्दै जाने बीमितले अधिकतम २ लाख रुपैयाँसम्मको उपचार सेवा प्राप्त हुने स्वास्थ्य बिमाले आर्थिक स्थिति कमजोर भएका सर्वसाधारणको उपचार सेवाको अभाव कम गर्दै गएको छ ।


बिमामा आबद्धलाई उपचार सेवासँगै औषधी निःशुल्क उपलब्ध गराइने गरेको छ । स्वास्थ्य बिमा गर्न पाँच जनाको परिवारले ३ हजार ५ सय रुपैयाँ वार्षिक शुल्क बुझाउनुपर्ने नियम छ ।

 

पाँच जना बढी परिवारको सदस्य भए प्रत्येक थप सदस्य बराबर ७ सय रुपैयाँको दरले थप रकम तिर्नुपर्ने व्यवस्था छ । सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन विभिन्न कार्यक्रम गरिरहेको छ । नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन बिमाले सहयोग गरिरहेको छ ।

 

७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, अशक्त, अपांगताको रातो कार्ड भएका व्यक्ति, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खाले क्षयरोग भएका बिरामीको निःशुल्क स्वास्थ्य बिमा हुने व्यवस्था छ ।

 

उपचारमा झन्झटिलो व्यवस्था भए खर्चमा सहज हुने स्वास्थ्य बिमालाई प्रत्येक नागरिकमा पु¥याएर सेवाप्रदायक संस्थालाई समेत प्रभावकारी सेवा दिन जिम्मेवार बनाउन सके सेवामा थप आकर्षण बढ्ने देखिन्छ ।

 

बिमामा आकर्षण बढेपनि उपचार सेवामा असहज

 

स्वास्थ्य बिमा गर्नेको दर बढे पनि अस्पतालमा उपचार सेवाको असहजता कायमै छ । जिल्ला अस्पतालमा सेवा सहज भए पनि जिल्लाबाहिरका सूचीकृत अस्पतालमा सेवा लिन जाँदा उपचार प्रक्रिया झन्झटिलो भएको सेवाग्राहीको गुनासो छ ।


जिल्लाबाहिरका सूचीकृत अस्पतालमा सेवा लिदाँ खर्च नलागे पनि उपचारको कागजी प्रक्रियाले समय लिने गरेको छ । यसले समयमै बिरामीको उपचारमा समस्या देखिएको हो । 


उपचारमा सहज भए पनि जिल्लाबाहिरका अस्पतालमा जाँदा नगद पैसा दिनेलाई नै प्रथमिकता दिने, बिमा गर्नेको काम गर्ने तर कम प्राथमिकतामा राखेर गर्दा समय बढी लाग्ने गरेको इलाम नगरपालिका वडा नम्बर ४ का बीमित हरिप्रसाद नेपालको अनुभव छ ।

 

स्वास्थ्य बिमाले उपचारमा लाग्ने खर्चमा थप सहयोग गरे पनि उपचारमा समय बढी लाग्ने गरेकोे इलाम बजारका कपिल शर्माले बताए । अरू बिरामीजस्तै अस्पतालले समान व्यवहार गरे बिमाको विश्वास बढ्दै उनको भनाइ छ ।

 

‘उपचारमा जाँदा अस्पतालले मान्छेअनुसारको व्यवहार गर्ने गरेको स्वास्थ्य बिमा दर्ता सहयोगी सीता घिमिरेले बताइन् । उनले भनिन्, ‘अस्पतालका कर्मचारीले बीमितलाई समान व्यवहार गरे सहज हुन्छ । तर, मान्छे हेरेर व्यवहार गर्ने भएकाले दुवै खाले प्रतिक्रिया आउने गरेको छ ।’ 


जिल्लामा स्वास्थ्य बिमामा सर्वसाधारणको विश्वास बढेको स्वास्थ्य बिमा बोर्ड इलामका दर्ता अधिकारी खेम अधिकारीले बताए । उनले भने, ‘बिमा गर्नेको दरसमेत बर्सेनि बढ्दै गएको छ । स्थानीय सरकारको प्राथमिकतामा परेकाले पनि बिमामा सर्वसाधारण आकर्षित हुँदै गएका छन् ।’ 

 

स्वास्थ्य बिमा विषयमा नागरिकका गुनासा पनि छन् । अस्पतालले उपचारमा प्रथमिकता नदिनेलगायतको समस्या स्वीकार गर्दै स्वास्थ्य बिमा बोर्ड दर्ता अधिकारीले भने, ‘स्वास्थ्य बिमाका सबै खाले समस्या हल गर्ने काम गरिरहेका छौँ । केन्द्रबाट पनि कतिपय औषधीका विषयमा सहज पहुँच बनाउने काम भइरहेको छ । सरोकारवालासँग बसेर समय–समयमा कुराकानी गरिरहेका छौँ । विस्तारै थप सहज होला ।’