close

कोभिसिल्ड छुटेकाले ६ महिनापछि पाए खोप 

कोभिसिल्ड छुटेकाले ६ महिनापछि पाए खोप 

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगामा कोरोना महामारीविरुद्धको कोभिसिल्ड खोप लगाएर छुटेका १६ हजार बढी नागरिकलाई दोस्रो डोज जापानी एस्ट्राजेनको खोप लगाइएको छ । ७ चैत २०७७ सम्म पहिलो डोज लगाएका नागरिकलाई कोभिसिल्ड नआएपछि जापानी खोप लगाइएको हो ।


स्थानीय तहका स्वास्थ्य संस्था र नजिकको खोप केन्द्रमा मंगलबारबाट खोप लगाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले बताए । 
उनका अनुसार दुई दिनसम्म अधिकांशले लगाइसकेको र छुटेकाले बिहीबार लगाउन सक्नेछन् । 


यसबीचमा भेरोसेल खोपको दोस्रो डोजसमेत लगाइनेछ । पहिलो डोज लगाएर कार्ड प्राप्त गरेकाले नजिकको खोप केन्द्रमा गएर खोप लाउन पाउने पन्तले जानकारी दिए ।

 

कोभिसिल्डको पहिलो डोज लगाएका १६ हजार ५ सय जनलाई ३ दिनमा दोस्रो डोज एस्ट्राजेन खोप दिन लागिएको हो । यो खोप कोभिसिल्डजस्तै भएकाले छुटेकालाई लगाइएको स्वास्थ्यकर्मीले बताए । 


स्थानीयले भने कोभिसिल्ड लगाएकाले अर्को खोप लगाउँदा असर गर्ने हो कि भनेर आशंका व्यक्त गरेका छन् । खोप लगाउन सिद्धिचरण नगरपालिकाको खोप केन्द्र पुगेकी शोभा सैँजुले भनिन्, ‘पहिला अर्कै लगाएकी थिएँ । अहिले यो खोप लगाउँदा समस्या आउने हो कि भन्ने चिन्ता छ ।’


उनको आशंका निवारण गर्दै स्वास्थ्यकर्मी हिमाल दाहालले भने, ‘शरीरमा दुवै खोपले प्रतिरोधात्मक क्षमता विकास गर्ने हो, केही असर हुँदैन । ढुक्क हुनुहोला ।अन्योल र आशंकाका बीच कोभिशिल्डको दोस्रो डोज खोप नपाएका नागरिकले मंगलबारबाट एस्ट्राजेन लाएका हुन् ।