close

रुकुम पूर्वमा पहिलो पटक अक्सिजन उत्पादन हुँदै

रुकुम पूर्वमा पहिलो पटक अक्सिजन उत्पादन हुँदै

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वमा पहिलो पटक अक्सिजन प्लान्ट जडान सुरु भएको छ । रुकुम पूर्व अस्पतालमा जिल्लामै पहिलो पटक अक्सिजन प्लान्ट जडान सुरु गरिएको हो ।

 

सिस्ने गाउँपालिका वडा नम्बर ५ रुकुमकोटस्थित रुकुम पूर्व अस्पतालमा अक्सिजन प्लान्ट जडान भइरहेको छ । जिल्लामै अक्सिजन उत्पादनका लागि प्लान्ट जडान गर्न लागिएको हो ।

 

अक्सिजन प्लान्ट खरिद गरी जडान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा टेन्डरमार्फत ७२ लाखको लागतमा अक्सिजन प्लान्ट जडान भइरहेको छ । अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक उपकरण ल्याइसकिएको छ । 

 

राप्ती सर्जिकल दाङले प्लान्ट जडानको जिम्मा लिएको छ । प्रविधि इन्टरनेसनल आइएनसीको प्राविधिक सहयोगमा अक्सिजन प्लान्ट जडानको काम भइरहेको अस्पतालले जनाएको छ ।

 

अबको केही दिनमै जडान गरी सक्ने प्रविधि इन्टरनेसनल आइएनसीका म्यानेजिङ डाइरेक्टर उमेशगोपाल गुरुवाचार्यले बताए । उनका अनुसार सहजै विद्युत् आपूर्ति भए अबको केही दिनभित्रै सोही प्लान्टबाट अक्सिजन उत्पादन सुरु हुनेछ । जिल्लामा विद्युत् आपूर्ति भरपर्दाे नभएकाले भने केही समस्या हुने देखिएको छ ।

 

केन्द्रीय प्रसारण लाइनको विद्युत् छ तर भरपर्दाे नहुँदा समस्या हुने गरेको हो । अक्सिजन उत्पादनका लागि ५० किलोवाट क्षमताको विद्युत् आवश्यक पर्ने बताइएको छ । 

 

विद्युत् आपूर्ति सहज भए उक्त प्लान्टबाट दैनिक ४० लिटरका ३० देखि ३२ वटासम्म सिलिन्डर भर्न सकिने रुकुम पूर्व अस्पतालका प्रमुख डा. गणेश चौधरीले बताए । 

 

अब जिल्लामा अक्सिजन अभाव नहुने डा. चौधरीको भनाइ छ । यसअघि कोरोना संक्रमित बिरामीलाई अक्सिजन भर्ने ठाउँ नहुँदा समस्या भइरहेको थियो । 

 

अक्सिजन सिलिन्डर भर्न बुटवल, नेपालगञ्ज, पोखरा पुग्नुपर्ने बाध्यता हट्नेछ । अक्सिजन आवश्यक पर्ने बिरामीका लागि सहज हुने रुकुम पूर्व अस्पतालले जनाएको छ ।