close

बन्द स्वास्थ्य इकाइ सञ्चालन धमाधम

बन्द स्वास्थ्य इकाइ सञ्चालन धमाधम

Trulli
ADVERTISEMENT

हुम्ला–हुम्लाको खार्पुनाथ गाउँपालिकामा १ साउनबाट बन्द रहेका सामुदायिक स्वास्थ्य इकाइलाई पुनः सञ्चालनमा ल्याएको छ ।

 

गाउँ कार्यपालिका बैठकले बन्द रहेका स्वास्थ्य इकाइ सञ्चालनमा ल्याउने निर्णय गरेको पालिका अध्यक्ष कर्ण रावलले बताए । पालिकामा रहेका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई इकाइमा खटाएर सञ्चालनमा ल्याएको हो । 

 

पालिकामा रहेका ५ वटै इकाइ सञ्चालनमा ल्याएको हो । ४ वटै वडाका ५ वटा सामुदायिक स्वास्थ्य इकाइका लागि तत्कालका लागि एक–एक जना स्वास्थ्यकर्मी खटाएर उपचार सेवा दिइनेछ । 

 

एक वर्षसम्म सञ्चालन भएर बन्द भएका सामुदायिक स्वास्थ्य इकाइमा वडा नम्बर १ को प्यूस, वडा नम्बर २ को सेराडिल, वडा नम्बर ४ को खेल र वडा नम्बर दुर्पा एवं ताक्ला छन् ।

 

पालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले ५ वटै इकाइमा अहेब र अनमी खटाएर रोकिएको उपचार सेवा सुरु भएको जानकारी दिए । गत वर्षबाट यी इकाइ सञ्चालन भइरहे पनि चालू वर्षमा कर्णाली प्रदेश सरकारले बजेट व्यवस्था नगर्दा १ साउनबाट स्वास्थ्यकर्मी हटेका थिए । 


स्वास्थ्यकर्मी हटेसँगै डेढ महिनादेखि इकाइ बन्द रहँदै आएका थिए । ५ वटै इकाइमा आफ्नै भवन र उपकरण छन् ।  इकाइ बन्द हुँदा दैनिक सेवाग्राहीबाट गुनासो आउने गरेकामा अब समस्या समाधान भएको छ । 

 

खार्पुनाथले पालिकाका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी खटाएर तत्कालका लागि समस्या समाधान गरे पनि सीमकोट, नाम्खा र सर्केगार्ड पालिकाका इकाइ भने हालसम्म बन्द छन् ।