close

​​​​​​​ सिरिजंगाले खोल्यो सुपथ फार्मेसी 

​​​​​​​ सिरिजंगाले खोल्यो सुपथ फार्मेसी 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ–चिकित्सकको व्यवस्था भए पनि बिरामीका लागि चाहिने औषधी खरिदका लागि अन्यत्र जानुपर्ने बाध्यता हटाउन ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा फार्मेसी सेवा सुरु गरेको छ ।

 

चिकित्सकको सिफारिसमा सुपथ मूल्यमा प्राथमिक स्वासथ्य केन्द्रबाटै बिक्री गर्ने गरी सञ्चालनमा ल्याइएको फार्मेसीका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ बिउ पुँजी रकम उपलब्ध गराएको छ ।

 

गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका लागि रिक्त १ जना चिकित्सकलाई थप प्रोत्साहन रकम दिने तथा र फार्मेसी सञ्चालनका लागि १ जना फर्मासिस्टलाइ करार सेवामा नियुक्त गरेको छ ।

 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले चिकित्सकको सिफारिसमा सशुल्क पाइने औषधी खरिदका लागि अन्यत्र जानुपर्ने बाध्यता हटाउन गाउँपालिकाले फार्मेसी सञ्चालन गर्न बिउ पुँजी उपलब्ध गराएको हो ।

 

सशुल्क पाइने औषधी खरिदका लागि अन्यत्र जाँदा नागरिकको समय र लागत बढ्ने भएकाले यो अवस्था अन्त्यका लागि गाउँपालिकाले फार्मेसी सञ्चालनमा ल्याउन सहयोग गरेको उनले जानकारी दिए ।

 

पालिकाको केन्द्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमै फार्मेसी सेवा सुरु गरिएको घिमिरेले बताए । फार्मेसी सेवामार्फत स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा समेत सघाउ पुग्ने गाउँपालिकाको विश्वास छ ।

 

शिक्षा, स्वास्थ्य, स्थानीय क्षेत्रमै रोजगारी, टोल विकास संस्थामार्फत सामाजिक कार्यमा योगदान दिने वातावरण सिर्जना, निःशुल्क डाक्टरी र प्राविधिक जनशक्ति उत्पादनका लागि सालिन्दा प्रत्येक वडाका १–१ जनालाई निःशुल्क प्राविधिक शिक्षालगायत व्यवस्था गर्दै आएको पालिकाले ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।


जनशक्ति व्यवस्थापन र फार्मेसी सेवा सञ्चालन सोही कार्यक्रमको केही अंश भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेको भनाइ छ ।