close

ताप्लेजुङलाई कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनाइँदै

१८ वर्षमाथिका सबै नागरिकलाई खोप दिन बन्यो तालिका 

ताप्लेजुङलाई कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनाइँदै

१८ वर्षमाथिका सबै नागरिकलाई खोप दिन बन्यो तालिका 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ–ताप्लेजुङलाइ पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियानअन्तर्गत खोप लगाउन छुट भएका १८ वर्षमाथि उमेर समूहका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । 

 

जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको मंगलबारको बैठकले खोप लगाउन छुटेका १८ वर्षमाथि उमेर समूहका सबै नागरिकलाई खोप वितरण गर्ने गरी कार्यतालिका बनाएको हो । यस्तै, भेरोसिलको पहिलो मात्रा लगाई कम्तीमा ३ साताको अवधि पूरा गरेका नागरिकले दोस्रो मात्रा पनि पाउनेछन् ।

 

जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार ९ देखि १८ असोजसम्म पालिकाका आधारमा जिल्लाभर खोप अभियान सञ्चालन हुनेछ ।

 

९ देखि १३ असोजसम्म सिदिङ्वा गाउँपालिका, सिरिजंगा, मिक्वाखोला, फक्ताङलुङ र मेरिङ्देनका सबै खोप केन्द्रमार्फत कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुनेछ ।  १० देखि १४ असोजसम्म फुङ्लिङ नगरपालिका र पाथीभरा याङ्बरक गाउँपालिकाका खोपकेन्द्रमार्फत खोप वितरण गर्ने कार्यतालिका बनेको छ ।  १४ देखि १८ असोजसम्म आठराई त्रिवेणी गाउँपालिका र मैवाखोलाका खोप केन्द्रमार्फत खोप वितरण गरिनेछ । स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार ताप्लेजुङमा मंगलबार ६१ हजार बढी डोज भेरोसिल खोप आइपुगेको छ ।

 

‘खोप लगाउन मिल्ने १८ वर्षमाथि उमेर समूहका कोही नागरिक कोरोनाविरुद्धको खोप लगाउन नछुटून् भन्ने उद्देश्यसहित खोप अभियान सञ्चालन गर्ने गरी वितरण कार्यतालिका बनेको हो,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने ।

 

जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले खोप लगाउन मिल्ने १८ वर्षमाथि उमेर समूहका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यमा सहजीकरण तथा खोप लगाउन उत्प्रेरित गर्दै यसको अनुगमन तथा सुपरीवेक्षण गरिदिन पालिका प्रमुखसहितका जनप्रतिनिधिलाई आग्रहसमेत गरेको छ । ‘कोरोनाविरुद्ध पूर्ण खोपयुक्त पालिका र जिल्ला बनाउन सरोकारवाला सबैले पहल गर्ने बेला आएको छ,’ फुङलिङ नगरप्रमुख छत्रपति प्याकुरेलले भने । उनले खोप लगाएर जोखिम हटाउने कार्यमा सहजीकरण गरिदिन १८ वर्षमाथि उमेर समूहका सबै नागरिकलाई आग्रह पनि गरे ।

 

स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार केन्द्रले २०६८ को जनगणनालाई आधार मानेर ताप्लेजुङभर १८ वर्ष उमेर समूहका ५८ हजार ४ सय नागरिक हुने प्रक्षेपण तथ्यांक पठाएको थियो ।

 

जागिर वा पेसाको सिलसिलामा रहेकासहित पछिल्लो १० वर्षमा थप करिब २७ हजार नागरिक १८ वर्ष पूरा भएको हुने अवस्थामा पुगेको अनुमानित तथ्यांकसहित स्वास्थ्य कार्यालय ताप्लेजुङले भने करिब ८५ हजार जना १८ वर्ष पूरा भएका नागरिक भएको प्रक्षेपणका आधारमा केन्द्रसँग खोप माग गरेको स्वास्थ्य कार्यालयमा खोप सुपरभाइजर दिनेश रायले बताए ।

 

उनका अनुसार यसअघि ताप्लेजुङमा विभिन्न प्रकृतिका गरी ६८ हजार ५ सय ४४ डोज कोरोनाविरुद्धको खोप आएको छ । २ डोज लगाउनुपर्ने ३० हजार ८ सय ९४ डोज भेरोसिल, दुवै डोज लगाउनुपर्ने १६ हजार ५ सय २० डोज कोभिसिल्ड र १५ हजार २ सय ८० डोज एक्सट्राजेन र १ डोज लगाए पुग्ने ५ हजार ८ सय ५० डोज जोन्सन एन्ड जोन्सन खोप यसअघि नै ताप्लेजुङ आइपुगेर प्रयोगमा आएको छ । 

 

ताप्लेजुङमा अहिलेसम्म ३४ हजार ८ सय १५ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् भने ३ हजार ८ सय ५९ जनाले पहिलो खोप लगाएर खोपको दोस्रो मात्रा लगाउन बाँकी छ । यीमध्ये ३ हजार २ सय ५७ जनाले एक्सट्राजेन÷कोभिसिल्ड र ६ सय २ जनाले भेरोसिलको दोस्रो मात्रा लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।