close

डुडुवा पालिका बन्यो स्वास्थ्य सेवामा उत्कृष्ट 

डुडुवा पालिका बन्यो स्वास्थ्य सेवामा उत्कृष्ट 

Trulli
ADVERTISEMENT

बाँके– बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवाअन्तर्गतको कार्य सम्पादनमा उत्कृष्ट बनेको छ । डुडुवाले नागरिकलाई दिँदै आएको स्वास्थ्य सेवाबारे बाँकेले गरेको मूल्यांकनमा सबभन्दा बढी ७६ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए । उनका अनुसार मूल्यांकनका क्रममा पालिका स्वास्थ्य सेवाअन्तर्गत विभिन्न सूचकको आधारमा उत्कृष्ट देखिएको हो ।

 

बाँकेमा डुडुवाले विगत वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आएकाले स्वास्थ्य सेवा सुधारिएसँगै बिरामीलाई सेवा लिन सहज भएको उनले बताए ।

 

स्वास्थ्य कार्यालय बाँकेले नेपालगञ्जमा आयोजना गरेको दुई दिने जनस्वास्थ्य क्रियाकलापबारे जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढालाई उत्कृष्टताको कदरपत्र प्रदान गरे ।  डुडुवा स्वास्थ्य शाखा प्रमुख बुढाले पालिकामा सञ्चालन गरिएका स्वास्थ्य सेवा तथा कामबारे जानकारी गराए ।


डुडुवा घर–घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको छ । अहिले पालिकाका तीन स्थानमा निःशुल्क प्रयोगशाला, ज्येष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई एम्बुलेन्स, सबै स्थानमा सुविधासम्पन्न आधारभूत सेवा, सेवाबाट वञ्चितीकरणमा परेका गाउँमा थप दुई वटा स्वास्थ्य इकाइ स्थापना गरेको छ ।
यस्तै, सरकारले उपलब्ध गराउने औषधीबाहेक मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निःशुल्क औषधी व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसूति सेवा र घरमै स्वास्थ्यकर्मीद्वारा सेवा प्रदान गर्दै आएको छ ।


जानकी गाउँपालिका दोस्रो र तेस्रोमा खजुरा पालिका मूल्यांकनका आधारमा छनोट भएका छन् ।  जिल्लाका ८ वटै पालिकालाई नेपालगञ्जमा बोलाएर आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्य प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो ।

 

कोरोना महामारीबीच पनि आमा सुरक्षा, नवजात शिशु सुरक्षा, क्षयरोग निवारण, कुष्ठरोगलगायत स्वास्थ्य सेवामा सुधार भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले हरेक वर्ष जिल्लामा स्वास्थ्य क्षेत्रमा कार्य सम्पादन गर्ने पालिकाको सूचकका आधारमा मूल्यांकन गर्दै आएको छ ।