close

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाले थलिए २ सय, २ को मृत्यु

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाले थलिए २ सय, २ को मृत्यु

Trulli
ADVERTISEMENT

रूपन्देही–कपिलवस्तुको कृष्णनगरमा गए रातीदेखि झाडापखलाको संक्रमण फैलिएर २ सय बढी बिरामी परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा सोमबार रातीदेखि झाडापखाला र बान्ताका बिरामी बढेका हुन् ।


भारतसँग सीमा जोडिएको नगरपालिकामा २ सय बढी बिरामी परेका छन् भने २ जनाको मृत्यु भएको छ । उनीहरूको कपिलवस्तुका विभिन्न अस्पताल र मेडिकलमा उपचार भइरहेको बताइएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले विभिन्न अस्पतालमा गरी २ सय बिरामी परेको जानकारी दिए । उनले भने, ‘२ जनाको मृत्यु भएको छ । पिउने पानी प्रदूषित हुँदा प्रकोप फैलिएको जानकारीमा आएको छ । कहाँबाट फैलियो भन्ने अझै पत्ता लाग्न सकेको छैन । अनुसन्धानमै छौँ ।’


कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले नगरपालिकाको बहादुरगञ्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरालगायत गाउँमा झाडापखाला फैलिएको जानकारी आएको बताए ।


स्वास्थ्य कार्यालय र बुटवलबाट पनि स्वास्थ्य टोली कृष्णनगर पुगेको छ । शिवराज कपिलवस्तु अस्पतालमा बिरामीको उपचार भइरहेको र केहीलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको पाण्डेले जानकारी दिए ।