close

गरिबलाई निःशुल्क उपचार घोषणामै सीमित : कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख !

उपचारका लागि ६ लाख लिएर आऊ भनेकी उनी ५ हजारको थैली बोकेर हिँडिन् राजधानी

गरिबलाई निःशुल्क उपचार घोषणामै सीमित : कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख !

उपचारका लागि ६ लाख लिएर आऊ भनेकी उनी ५ हजारको थैली बोकेर हिँडिन् राजधानी

Trulli
ADVERTISEMENT

बैतडी–बैतडीको पाटन नगरपालिका वडा नम्बर ५ वसन्तपुरकी ४८ वर्षीया पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छन् । गंगालाल मुटु रोग अस्पताल काठमाडौंका अनुसार पार्वतीको मुटुको ३ भल्व फेर्नुपर्नेछ । उनलाई ६ लाख रुपैयाँ र ४ जना रगत दिने मान्छे ल्याउनू भनिएको छ । तर, पार्वतीसँग न रगत दिने मान्छे छन्, न त पैसा नै । 

 

पैसाको नाममा ५ हजार मात्रै छ । त्यो पैसाले काठमाडौं पुग्न टिकटसम्म पुग्दैन । पार्वतीका पति जनक ६४ वर्षका छन् । उनीसमेत बेलाबेला हर्ट एट्याक हुने र स्वास्थ्य निकै कमजोर अवस्थाका छन् ।

 

गाउँघरमा सिलाइ पेसा अँगालेका जनक दम्पतीका ६ छोरी र एक ६ वर्षीय छोरा छन् । सिलाइ पेसाबाट लालाबालाको मुस्किलले भरथेग भइरहेको छ । पार्वतीको उपचार कसरी गर्ने भन्नेमा उनीहरूलाई चिन्ताले पिरोलिरहन्छ ।

 

जनक–पार्वती दम्पतीले उपचारकै क्रममा अहिलेसम्म आफ्नो खेतबारी बेचिइसकेका छन् भने १३ लाख ५० हजार रुपैयाँ ऋण लागिसकेको छ ।  पति जनकले भने, ‘श्रीमतीलाई बैतडी, डडेल्धुरा, धनगढीदेखि काठमाडौंका धेरै अस्पतालमा पुर्‍याउँदा, उपचार खर्च, होटलको बसाइ, यातायात खर्च गरेर लाखौँ खर्च भइसकेको छ । अझ अहिले अप्रेसन खर्च मात्रै ६ लाख लाग्छ भनेको छ । काठमाडौंमा आफ्नो कोही छैन । कहाँ बस्ने, के खाने ? केही सोच्न सकेका छैनौँ । साढे १३ लाख रुपैयाँ रकम ऋण लागिसक्यो ।’

 

श्रीमतीकै उपचारका लागि अहिलेसम्म सांग्रिला डेभलपमेन्ट बैंकबाट ६ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकबाट ३ लाख र गाउँघरबाट ४ लाख ५० हजार रुपैयाँ ऋण निकालेको ठगुन्नाले सुनाए । 

 

मुटु रोगी पार्वतीले भक्कानिँदै भनिन्, ‘मलाई बाँच्ने आशा निकै कम छ । घरमा १२ देखि २० वर्षसम्मका ६ वटी छोरी छन् । ६ वर्षको एउटा छोरा छ । दुवै बूढाबूढी बिरामी छौँ । मर्ने–बाँच्ने निश्चित छैन । ७ छोराछोरी टुहुरा भए कसले हुर्काइदेला ! यही चिन्ता छ । रातदिन रोएरै बिताउँछौँ ।’

 

गत २०७७ माघमा पार्वती बिरामी भएर १५ दिन घरमै थला परिन् । उनलाई स्थानीय मेडिकल र जिल्लास्थित निजी पोलिक्लिनिकमा लगियो । त्यसपछि जिल्ला अस्पताल हुदैँ डडेल्धुरा अस्पताल, धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याई अन्तमा काठमाडौं लगियो । मुटु रोग पत्ता लागेपछि उनलाई उपचार सुुरु गरियो ।  अहिले पनि उनको शरीर झम्झम्याउने, हिँडडुल गर्न नसक्ने, बढी समय उभिन नसक्ने, शरीर दुखी रहने, सास फेर्न गाह्रो हुने, हातखुट्टा सुनिनेलगायत समस्या छन् । 


उपचार गरौँ पैसा छैन, लाखौँ ऋण लागिसक्यो । उपचार नगरौँ छोराछोरी कसले पालिदेला ? उनीहरूको चिन्ता यसमै छ । पार्वतीले भनिन्, ‘घरमा आर्थिक अवस्था निम्छरो छ । उपचार गर्दागर्दै सबै सम्पत्ति सिद्धियो । सहयोग गर्ने दाता भइदिए उपचार हुन्थ्यो ।’

 

पार्वतीको परिवारलाई पाटन नगरपालिकाले १५ हजार रुपैयाँ उपलब्ध गराएको र विपन्न भएका कारण १ लाख रुपैयाँ उपचार शुल्कमा छुट गरिदिन सिफारिस गरेको पाटन वडा नम्बर ५ का वडाध्यक्ष फुनिसिंह बोहराले बताए ।