close

कपिलवस्तुका ५ पालिकामा चलाइँदै हैजाविरुद्धको खोप अभियान 

कपिलवस्तुका ५ पालिकामा चलाइँदै हैजाविरुद्धको खोप अभियान 

Trulli
ADVERTISEMENT

रूपन्देही–कपिलवस्तुका ५ पालिकामा फैलिएको हैजा नियन्त्रणमा ल्याउन हैजाविरुद्धको खोप अभियान चलाइने भएको छ । ५ देखि १२ मंसिरसम्मको १० दिने अभियानमा हैजाविरुद्धको खोप लगाइनेछ ।

 

कपिलवस्तुका कृष्णनगर, शिवराज, महाराजगञ्ज, विजयनगर नगरपालिका र यशोधरा गाउँपालिकामा गत १८ असोजदेखि हैजा फैलिएको हैजा नियन्त्रणमा नआएपछि खोप लगाउन थालिएको हो ।

 

लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै डब्लुएचओबाट प्रमाणित स्यानकोल नामक खोप लगाइन थालेको जानकारी दिएको छ ।


उक्त खोप २ देखि ४ साताको फरकमा २ मात्रा लगाउनुपर्छ । दुवै मात्रा पाएका व्यक्तिमा ७ देखि १० दिनबाट उक्त खोपले काम गर्न थाल्छ । कपिलवस्तुमा ३ साताको फरकमा २६ मंसिरदेखि ४ पुससम्म दोस्रो मात्राको खोप अभियान सञ्चालन हुनेछ ।

 

कपिलवस्तुमा हैजा फैलिएका पाँच वटै स्थानीय तहका एक वर्षमाथिका सबैलाई खोप लगाइनेछ । यसका लागि घरदैलोमा स्वास्थ्य स्वयमसेविका परिचालनदेखि माइकिङ र विद्यालयबाट समेत सन्देश प्रवाह गरिएको मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए । 

 

कपिलवस्तुमा १८ असोजदेखि हैजा फैलिएको थियो । उक्त दिन कृष्णनगरको शिवराज अस्पतालमा ९ जना झाडापखालाका बिरामी भर्ना भएका थिए । दोस्रो दिन बिरामीको संख्या ११३ पुगेको थियो ।

 

२२ असोजमा परीक्षणमार्फत झाडापखाला हैजा रहेको प्रमाणित भएको थियो । पानीको स्रोत फोहोर भएका कारण हैजा फैलिएको प्रमाणित भएको छ । कृष्णनगर हुँदै अन्य स्थानीय तहमा हैजा फैलिएको हो । यद्यपि सबैभन्दा धेरै बिरामी उक्त नगरपालिकामा १०७१ जना संक्रमित भएका छन् । 

 

हैजाबाट अहिलेसम्म १ हजार ४ सय ४९ जना संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ । हाल १ जना उपचाररत छन् । मन्त्रालयका स्वास्थ्य अधिकृत शैलेन्द्र पाण्डेले कपिलवस्तुमा पानी शुद्ध गर्न क्लोरिन ट्याबलेट वितरण, थप स्वास्थ्यकर्मी परिचालन र व्यक्तिगत सरसफाइका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

 

कपिलवस्तुमा हैजाविरुद्धको खोपबारे जानकारी दिन लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा डब्लुएचओ, आईपिएस, युनिसेफ, युएनआईसिईएफलगायतका प्रतिनिधि सहभागी थिए ।