काठमाडौं– विस्तारै कम हुँदै गएको कोरोना महामारी पुनः आउन नदिन सुरक्षात्मक उपाय अपनाउन सरकारले रणनीति बनाउन थालेको छ । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता र अन्य चार मन्त्रीको सहभागितामा केन्द्रीय सुरक्षा समितिको बैठक बिहीबार गृह मन्त्रालयमा बसेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, परराष्ट्रमन्त्री डा. नारायण खड्का, रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, मुख्य सचिव शंकरदास बैरागी, सम्बन्धित मन्त्रालयका सचिव, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत गणेश अधिकारीसहितको बैठकले कोभिड–१९ पुनः संक्रमण हुन नदिन अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे बैठक आयोजना गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा सहभागी मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखले आ–आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा कार्यक्रम तयार गरी कोभिड संक्रमण नियन्त्रणका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।
‘कोभिड–१९ को संक्रमण पुनः बढ्न नदिन यससँग सम्बन्धित मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखसँग कार्यवाहक प्रधानमन्त्रीले छलफल गर्नुभएको हो,’ प्रवक्ता पोखरेलले भने, ‘बैठकमा चाडवाडको मुखमा भीडभाड बढ्ने र सोही कारण कोभिड संक्रमण बढ्न सक्ने अवस्थाबारे छलफल भएको थियो ।