close

चितवनमा कोभिडविरुद्धको खोपको माग न्यून

चितवनमा कोभिडविरुद्धको खोपको माग न्यून

Trulli
ADVERTISEMENT

चितवन–चितवन जिल्लामा कोभिडविरुद्धको खोप लगाउन चाहनेहरुको संख्या न्यून हुँदै गएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार हालसम्म जिल्लामा पहिलो मात्रा तीन लाख ११ हजार ८८९ जनाले लगाइसकेका छन् । पूर्ण मात्रा लगाउनेको सङ्ख्या दुई लाख ५९ हजार ९७७ रहेको छ । पहिलो मात्रा कोभिडसिल्ड ३९ हजार ९२१, भेरोसेल दुई लाख ३१ हजार ११ र एस्ट्राजेनिका ४० हजार ९५७ जनाले लगाएको उनले जानकारी दिए ।

 

पूर्ण मात्रा लगाउनेमा कोभिसिल्डका ५८ हजार ३२१ र भेरोसेलका एक लाख ६३ हजार ८८ जोन्सन ३८ हजार ५६८ जना रहेका छन् । जिल्लामा २०७७ साल पुस ५ गतेसम्म १८ वर्ष पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या तीन लाख ६८ हजार ३८२ छ । यस समययता पाँच हजार हाराहारी फोटो खिचेर नाम दर्ता गराउने प्रक्रियामा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
 
कार्यालय प्रमुख तिवारीका भनाइमा ८० प्रतिशत हाराहारीले खोप लगाइसकेका छन् । बाँकी हुनेहरुका लागि हरेक हप्ताको बिहीबार स्वास्थ्य कार्यालय परिसरमा खोप लगाउने व्यवस्था गरिएको छ । अन्य पालिकाहरुमा ठूलो संख्या भएमा खोप लगाइने उनले बताए ।  अन्यथा एक–दुईजना भएमा यहीँ आएर बिहीबार लगाउने व्यवस्था गरिएको उनको भनाइ छ ।


 
उनका अनुसार पहिले पहिले खोपको निकै माग हुने गरेकामा अब खोप लगाउन छुटेकाहरुको खोजी गर्नुपर्ने दिन आएको छ । भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टका अनुसार महानगरपालिकामा ५५ प्रतिशतले खोप लगाइसकेका छन् । बाँकी हुनेहरुलाई साताको एक दिन खोप लगाउने व्यवस्था गरिएको छ । छुटेकाहरुलाई खोप लगाउन महानगरपालिकाले अनुरोध गर्दै आएको छ 
 
खैरहनी नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख अनुप अधिकारीले पहिलो मात्रा खोप लगाउन माग गर्नेको संख्या खासै नभएको बताए ।  कतिपयले जोनसोन खोप लगाउन चाहेको भए पनि अन्य खोपका लागि माग नभएको बताए । उनका अनुसार ८० प्रतिशतभन्दा बढी नगरवासीले खोप लगाइसकेका छन् ।


 
परिवार कल्याण महाशाखाका प्रमुख सागर दाहाल ग्रामीण क्षेत्रहरुमा खोपका लागि अभियान चलाउनुपर्ने बताए  । उनले भने, ‘खोज र खोपको अभियान सञ्चालन गर्नुपर्छ ।’ ग्रामीण क्षेत्रमा पछाडि परेका समुदायहरु खोप लगाउनबाट छुटेकोले उनीहरूलाई लक्षित गरी पालिकाहरुले कार्यक्रम ल्याउनुपर्ने जानकारी दिए । काठमाडौँमा चार ठाउँमा अभियानमार्फत खोप केन्द्र सञ्चालन गर्दा दुई दिनमा ६ हजारले खोप लगाएको उदाहरण दिँदै उनले अभियान चलाउनुपर्ने बताए ।