काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१८ वर्ष उमेर समूहका बालबालिकालाई ४ पुसदेखि कोभिड–१९ विरुद्धको खोप लगाइने बताएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकुमार लालका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिइनेछ । हिमालीसहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइनेछ ।
यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाका बालबालिकालाई भने फाइजर खोप दिइने उनले बताए । स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार करिब १८ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने लक्ष्य छ । दाहालले भने, ‘हिमाली जिल्लाको हकमा १०० बढी र अन्य जिल्लाको हकमा २०० बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड बनाएका छौँ । सोही मापदण्डअनुसार खोप केन्द्र निर्धारण गरेर बालबालिकालाई मोडर्ना खोप दिन्छौँ ।’
यो अभियान १४ पुससम्म सञ्चालन हुनेछ । दाहालका अनुसार आइतबारसम्म गरी झन्डै ३७ लाख डोज मोडर्ना खोप प्राप्त हुनेछ ।
फाइजर खोप दिइने जिल्ला
यसअघि फाइजर खोपका लागि तोकिएका २४ वटा विशेषज्ञ अस्पताल रहेका जिल्लाका बालबालिकालाई फाइजर खोप दिइनेछ । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, सिन्धुली, चितवन, काभ्रे, कास्की, बागलुङ, रूपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराका गरी २४ वटा विशेषज्ञ अस्पतालबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिइएको थियो ।
राष्ट्रिय खोप सल्लाहाकार समितिले बढी जनघनत्व भएको र यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लामा फाइजर खोप दिन सुझाएको दाहालले बताए ।
फाइजर खोप अभियान सञ्चालनका लागि तालिम प्राप्त जनशक्ति आवश्यक पर्ने, प्रयोगका लागि प्राविधिक हिसाबले पनि मोडर्नाभन्दा यो खोप अलि फरक भएकाले बढी जनघनत्व भएका र यसअघि नै प्रयोगमा आएका जिल्लामा लगाउने निर्णय भएको दाहालको भनाइ छ । फाइजर खोपको तुलनामा मोडर्ना खोप दुर्गम जिल्लामा लैजान सहज हुने भएकाले पनि ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने सरकारको तयारी छ ।