close

बाजुरामा कोरोनाविरुद्धको खोप : पहिलो मात्रा लगाएका १२ हजार बढीले दोस्रो डोज लगाउनै पाएनन् 

बाजुरामा कोरोनाविरुद्धको खोप : पहिलो मात्रा लगाएका १२ हजार बढीले दोस्रो डोज लगाउनै पाएनन् 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुरामा कोरोनाविरुद्धको पहिलो डोज लगाएका १२ हजार बढीले दोस्रो डोज नलगाएको पाइएको छ । विभिन्न चरणमा गरी पहिलो मात्रा लगाएका १२ हजार ४ सय ६९ जनाले दोस्रो मात्रा नलगाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बाजुरामा भेरोसिल, कोभिसिल र जोन्सन एन्ड जोन्सन गरी तीन थरी खोप अभियान सञ्चालन भइरहेको छ । बाजुराका ९ वटै स्थानीय तहबाट भेरोसियल र कोभिसिल गरी ५५ हजार २ सय ६२ जनाले पहिलो मात्राको खोप लगाएका छन् ।

 

३८ हजार ५ सय ९० जनाले भेरोसिल र १६ हजार ६ सय ७२ जनाले कोभिसिलको पहिलो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्यांक छ । तीमध्ये दोस्रो चरणमा २९ हजार २ सय ६१ जनाले भेरोसिल र १३ हजार ७ सय ३२ जनाले कोभिसिल गरी ४२ हजार ९ सय ९३ जनाले मात्र दोस्रो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका खोप अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए ।

 

१२ हजार २ सय ६९ जनाले दोस्रो मात्राको खोप नलगाएको अधिकृत न्यांैपानेले बताए । बाजुरामा १८ वर्षमाथिका ९९ हजार ६२ लाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । यीमध्ये ५ हजार ९ सय ७८ जनाले जोन्सन एन्ड जोन्सन, ४२ हजार ९ सय ९३ जनाले भेरोसिल र कोभिसिलको पूर्ण खोप लगाएको न्यौपानेले बताए ।

 

अहिले पनि जिल्लाका सबै स्थानीय तहलाई पायक पर्ने गरी ३ वटा खोप केन्द्र बनाएर नियमित कोरोनाविरुद्धको खोप अभियान सञ्चालनमा रहे पनि खोप लगाउनेको संख्या न्यून छ । उत्तरी क्षेत्रका ४ पालिकालाई पायक पर्ने गरी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, दक्षिणी क्षेत्रका पालिकालाई पायक पर्ने गरी टाँटे स्वास्थ्य चौकी र अन्य पालिकालाई पायक पर्ने गरी जनस्वास्थ्य प्रवद्र्धन इकाइबाट कोरोनाविरुद्धको खोप नियमित लगाइँदै आएको छ । 

 


विभिन्न चरणमा जिल्ला ९ वटै पालिकाका स्वास्थ्य चौकीदेखि लिएर टोलटोलसम्म गरी ८४ वटा खोप केन्द्रबाट खोप अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले बताए । ‘पहिलो चरणमा लकडाउनले देश तथा विदेश गएकाहरू सबै गाउँ आएकाले पहिलो डोज बढीले लगाए । दोस्रो चरणमा लकडाउन खुकुलो भएसँगै कोही भारत गए, कोही देशकै विभिन्न सहर जाँदा दोस्रो चरणमा खोप लगाउनेको संख्या कम भएको हुन सक्छ’, वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले भने । 


पहिलो डोज लगाएकाले नेपालभित्र जहाँ भए पनि दोस्रो डोज लगाउने सक्ने उनको भनाइ छ ।  हालसम्म बाजुरामा ४ हजार ५ सय ८४ जनाको पिसिआर परीक्षण गरिएकामा ६ सय ४४ जनालाई पोजेटिभ देखिएको थियो । २ जनाको मृत्यु भएको थियो । त्यस्तै, ५ हजार २ सय ८६ जनाको एन्टिजिन परीक्षण गरिएकामा ८ सय ८५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसमध्ये १० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

 

 जिल्लामा हाल २ जना एक्टिभ केसका संक्रमित छन् । दुवै जनाको स्वास्थ्य सामान्य छ भने उनीहरू होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले बताएको छ । बाजुरामा ९ देखि १२ पुससम्म १७ वर्ष उमेर समूहका १८ हजार बढी बालबालिकाका लागि खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।