close

बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालन

बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालन

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुरामा पहिलो पटक पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । जिल्ला अस्पताल बाजुराले कोभिड जाँचलाई लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको बाजुरा अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताए ।


लामो समयको प्रयासपछि पिसिआर ल्याब सुचारु गर्न सफल भएको जोशीको भनाइ छ । कोभिड जाँचका लागि यहाँ नागरिकलाई यसअघि धनगढी, डोटीलगायत जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परीक्षणसमेत गरिएको जोशीले जानकारी दिए ।

 

७७ जनामा ल्याब परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखापरेको बाजुराले अस्पतालले बताएको छ । बाजुरामा सञ्चालनमा ल्याइएको ल्याब गुणस्तर प्रमाणित भएको छ । चेकजाँच गरिएको स्वाब काठमाडौं पठाउँदा यहाँको याब राम्रो रहेको प्रमाणित भइसकेको प्रमुख जोशीले बताए ।

 

पिसिआर ल्याब सेवा सञ्चालन नहुदा ऐन्टिजिन जाँच र स्वाब संकलन गरेर जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ । ‘वर्षाका बेला पिसिआर जाँच गरेको रिपोर्ट आउन १ साता कुर्नुपथ्र्यो । बाटो अवरोध हुँदा जिल्ला बाहिर पठाउँदा निकै समस्या हुने गरेको थियो । अब यो सास्ती हट्नेछ’, जोशीले भने ।

 

पिसीआर ल्याब सञ्चालनका लागि संघीय र प्रदेश सरकारले लगानी गरेका छन् । धेरैजसो सामग्री संघीय सांसद लालबहादुर थापाको पहलमा बाजुरा ल्याइएको थियो । अपुग सामान जिल्ला अस्पताल बाजुराले २७ लाख रुपैयाँमा टेन्डर गरी खरिद गरेको हो ।


सेवा सञ्चालनका लागि बाजुरा जिल्ला अस्पतालले मेडिकल ल्याब टेक्नोलोजी अधिकृत राम विष्टलाई नियुक्त गरेको छ । त्यस्तै, आइएनएफ बाजुरा नामक गैरसरकारी संस्थाले एक ल्याब टेक्निसियन व्यवस्था गरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।

 

आइएनएफ बाजुराले कोभिड अस्पतालका लागि अन्य सामग्री पनि सहयोग गरेको छ । जिल्लामै पिसिआर सञ्चालनमा आएपछि अब कोभिड जाँच गर्न पहिलाजस्तो समस्या नहुने प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए ।

 

‘ल्याब सेवा धेरै प्रयास गरेपछि सबैको सहयोगबाट सञ्चालनमा आएको हो । जिल्लाबासीलाई कोभिड चेकजाँचका लागि अन्यन्त्र जिल्ला जानुपर्ने र रिपोर्ट आउनसमेत ढिलो हुने, खर्च अधिक हुने गरेकामा अब सहज भएको छ’, अधिकारीले भने ।

 

पिसिआर ल्याब सेवा सञ्चालनमा आएपछि अन्य भाइरस र ब्याक्टेरियाको जाँच पनि हुनेछ । अन्य कुनै सरुवा रोग फैलिए पहिचानका लागि जाँच गर्न धनगढी, नेपालगञ्ज, काठमाडांै पठाइने गरेको । अब जिल्लामै सञ्चालनमा ल्याइएको ल्याबबाट सबै काम गर्न सकिनेछ ।


 
कोल्टीका पाँच स्वास्थ्य क्लिनिकमा सिलबन्दी 

औषधी व्यवस्थापन विभागले बाजुराको कोल्टीमा सञ्चालित पाँच स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको छ । विभागको नेतृत्वमा आएको अनुगमन टोलीले मापदण्डअनुसार दर्ता प्रक्रिया नगरेको पाइएपछि स्वास्थ्य क्लिनिक सिलबन्दी गरिएको हो ।


टोलीले बाजुराको कोल्टी बजारका तीन र पिलुचौरमा सञ्चालित दुई स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको हो । विभिन्न अस्पताल, मेडिकल एवं डेन्टल क्लिनिक र जनस्वास्थ्यमा दर्ता एवं नवीकरण भए÷नभएको जाँच गर्ने क्रममा कोल्टीमा रहेका प्रभा आयुर्वेद, नवीन मेडिकल, विशाल आयुर्वेद औषधी पसल र पिलुचौरमा रहेका जनता स्वास्थ्य क्लिनिक र सन्ज्याल हेल्थ क्लिनिकमा सिलबन्दी गरेको हो । विभागले मंगलबार प्रभा आयुर्वेद मेडिकल पसल सिलबन्दी गरेको छ । पसलका सञ्चालक भागेपछि विभागको निगरानीमा रहेको मेडिकल सिलबन्दी गरिएको छ ।