close

सीमा क्षेत्रमा ओमिक्रोनको त्रास : होल्डिङ सेन्टर निर्माण धमाधम

सीमा क्षेत्रमा ओमिक्रोनको त्रास : होल्डिङ सेन्टर निर्माण धमाधम

Trulli
ADVERTISEMENT

कपिलवस्तु/चन्द्रौटा–भारतमा कोरोना संक्रमण ह्वात्तै बढेपछि सीमा नाकामा नेपाल फर्किनेको लर्को लागेको छ । कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गर्नेको संख्या दोब्बरले वृद्धि भएको छ । नेपाल प्रवेश गनेरूको कोरोना परीक्षण सुरु भएको छ । कोरोनाको दोस्रो चरणमा भारतसँग जोडिएको सीमा क्षेत्रमा निर्माण सुरु भएका होल्डिङ सेन्टर अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् ।


यात्रुलाई लक्षित गर्दै निर्माण गरिएका होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाबाट निर्माण भएका उक्त होल्डिङ सेन्टरमा कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट प्रवेश गर्नेलाई राखिनेछ ।


कृष्ण नगर नगरपालिका वडा नम्बर १ शिवानगरमा रहेको ४ सय बेडको होल्डिङ सेन्टर पुसभित्रै सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ । भन्सार नाका नजिकै ६ सय बेड क्षमताको होल्डिङ सेन्टरको काम तीव्र गतिमा भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । ‘एउटा निर्माणको काम पूरा भएको छ । अर्काे होल्डिङ सेन्टर निर्माणका लागि ताकेता गरेका छौँ,’ पाण्डेले भने, ‘पहिला निर्माणको काम पूरा गर्छौं । भरखरै सञ्चालन गर्ने अवस्था भने छैन ।’


गत ३ असारबाट सुरु गरिएको निर्माणको काम ५ महिनाभित्र सम्पन्न गर्ने भनिए पनि बर्खाका कारण केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । अबको केही दिनमै काम सम्पन्न भएपछि उक्त स्थानबाट सेवा सुरु गर्ने सकिने कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साहले बताए । उक्त होल्डिङ सेन्टर निर्माणका लागि २७ करोड ६७ लाख ८२ हजार ५ सय ३५ रुपैयाँमा हनुमान कन्स्ट्रक्सन ललितपुरले जिम्मा लिएको छ ।

 

सञ्चालन अन्योलमा
होल्डिङ सेन्टर निर्माणको काम पूरा भए पनि सञ्चालनमा भने अन्योल देखिएको छ । अहिलेसम्म सरकारले सेन्टर सञ्चालनका लागि कसैलाई जिम्मा नदिँदा अन्योल देखिएको हो ।

 

होल्डिङ सेन्टर सञ्चालनका लागि अहिलेसम्म केन्द्रबाट कुनै पनि निर्णय नआएको प्रजिअ पाण्डेले बताए । ‘होल्डिङ सेन्टर निर्माण गरिएको छ । यसलाई व्यवस्थापन कुन निकायले गर्ने भन्ने विषयमा निर्णय भएको छैन,’ पाण्डेले भने ।


१ हजार बेड क्षमताको होल्डिङ सेन्टर स्थानीय तहले सञ्चालन गर्न नसक्ने कृष्णनगर नगरपालिका प्रमुख शाह बताउँछन् । ‘त्यसै त पालिकामा स्रोत अभाव छ । यति ठूलो होल्डिङ सेन्टर नगरले सञ्चालन गर्न सक्दैन’, साहले भने, ‘प्रदेश वा केन्द्रले सञ्चालनको जिम्मा लिनुपर्छ ।’