close

उदयपुर जिल्ला अस्पतालले १० वर्षपछि पायो विशेषज्ञ चिकित्सक 

उदयपुर जिल्ला अस्पतालले १० वर्षपछि पायो विशेषज्ञ चिकित्सक 

Trulli
ADVERTISEMENT

उदयपुर–उदयपुर सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरले स्तरोन्नति भएको १० वर्षपछि बल्ल विशेषज्ञ चिकित्सक पाएको छ । सरकारले स्तरोन्नति गरेको लामो समयपछि जिल्ला अस्पताल गाईघाटबाट विशेषज्ञ सेवा सुरु भएको हो । 

 

जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति भएको एक दशकपछि दरबन्दीअनुरूपका चिकित्सक पाएको हो । साविक २५ शय्याको अस्पताललाई तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक वर्ष ०६८/६९ मा ५० शय्यामा स्तरोन्नति गरेका थिए । १० विशेषज्ञ डाक्टरको दरबन्दीसहित ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरे पनि जनशक्ति नपठाउँदा अस्पताल रिफर सेन्टरमै सीमित हुँदै आएको थियो । 

 

५० वर्षअघि स्थापना भएको जिल्ला अस्पताल गाईघाटमा जटिल खालका गर्भवतीको अप्रेसनद्वारा सुत्केरी गराउने (सिएस) सेवासम्म दिँदै आएको थियो । जिल्ला अस्पताल गाईघाटमा दरबन्दीअनुरूप चिकित्सक नहुँदा उपचारमा समस्या हुँदै आएको थियो । अस्पतालमा सहसचिव स्तर प्रमुख कन्सल्टेन्ट ११औँ तहसहित १० कन्सल्टेन्ट विशेषज्ञसहित १४ जना मेडिकल अधिकृृतको स्वीकृत दरबन्दी छ ।

 

अस्पतालले १० वर्षसम्म विशेषज्ञ दरबन्दीको चिकित्सक अभाव झेल्दै आएकामा केही दिनबाट धमाधम विशेषज्ञ चिकित्सक आउन थालेका छन् । अस्पतालमा सहसचिव स्तरको ११औँ तहका मेडिकल सुपरिटेन्डेन्ट प्रमुख कन्सल्टेन्ट १, कन्सल्टेन्ट विशेषज्ञ १०, मेडिकल अधिकृत ४ र अन्य प्राविधिक एवं कर्मचारी गरी ५९ जनाको दरबन्दी रहेको छ ।

 

तर, प्रमुख कन्सल्टेन्टसहित १० कन्सल्टेन्ट विशेषज्ञ चिकित्सक आएपछि सेवा गुणस्तरीय बन्दै गएको जिल्ला अस्पताल गाईघाटका सूचना अधिकारी बृखबहादुर खत्रीले जानकारी दिए । 

 

अस्पतालमा कन्सल्टेन्ट मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मुकेश झा स्त्री रोग विशेषज्ञ गाइनो, डा. विशाल देव विशेषज्ञ एनेसथेसियलिस्ट, डा. रितेशराज कर्ण विशेषज्ञ स्त्री रोग गाइनो, डा. शशिरञ्जन प्रधान विशेषज्ञ हाडजोर्नी, डा. राहुल रौनियार विशेषज्ञ फिजिसियन इन्टरनल, डा. कौशल तामाङ विशेषज्ञ एनेस्थेसियन, डा. अमरेश महतो विशेषज्ञ एमडी जिपी, डा. बेन्जु श्रेष्ठ विशेषज्ञ डेन्टल सर्जन, डा. नारायण श्रेष्ठ विशेषज्ञ डेन्टल सर्जन, डा. जीवनारायण मण्डललगायत विशेषज्ञ चिकित्सकले सेवा दिनेछन् । 

 

त्यसैगरी डा. सुमेश चौधरी, डा. अमितकुमार यादव, डा. चन्दन गुप्ता, डा. प्रशान्त सुवेदी, डा. अमित कर्ण, डा. अम्बिका सिंह, डा. दीपक यादबलगायत मेडिकल अधिकृत आएका छन् । 

 

जिल्ला अस्पताल गाईघाटमा गाइनो चिकित्सामा मेडिकल अधिकृत रहेर अनुभव बढुलेका कन्सल्टेन्ट झा गाईनोमै ३ वर्षे अध्ययन पूरा गरेर विशेषज्ञ डाक्टरका रूपमा मेसुको जिम्मेवारी लिएर एक महिनाअघि सरुवा भई आएका हुन् ।

 

सरुवा भएर आएलगत्तै उनले सेवा विस्तार गर्ने क्रममा आङ खसेकी महिलाको अप्रेसन सेवा दिन थालेका छन् । उनीसहित अस्पतालमा दुई जना गाइनोकोलोजिस्ट छन् । यसअघि नै अस्पतालमा गाइनोमा डा. रितेशराज कर्ण कार्यरत थिए ।

 

पाठेघरको अप्रेसनसँगै अस्पतालमा एपेन्डिक्सका बिरामीको पनि सफल उपचार सुरु भएको छ । डा. झाका अनुसार विशेषज्ञ डाक्टरको आगमनपछि अस्पतालले सेवा विस्तार गर्न सहज भएको छ । अस्पतालमा अब मुटुरोग (कार्डियोलोजिस्ट), नाक कान घाँटी (इएनटी) तथा नशारोग विशेषज्ञ (न्युरोलोजिस्ट), बालरोग विशेषज्ञ, कन्सलटेन्ट रेडियोलोजिस्ट विशेषज्ञको दरबन्दी अझै खाली छ ।

 

यी दरबन्दी पूर्ति भए उदयपुर अस्पतालबाट विराटनगर र धरानसरहको उपचार सेवा दिन सकिने डा. झा बताउँछन् । त्यसैगरी १ जना नर्सिङ अधिकृतसहित ९ जना स्टाफ नर्सको दरबन्दी छ । त्यसमध्ये धेरै दरबन्दी रिक्त छ ।

 

यस्तै, प्रयोगशालातर्फ मेडिकल टेक्नोलोजिस्ट १ खाली, ल्याब टेक्निसियन २ जनाको दरबन्दीमा १ खाली, वायोमेडिकल सहायक दुवै खाली, कम्प्युटर अपरेटर, खरिदार, सवारी चालक कार्यालय सहयोगीको दरबन्दी रिक्त रहेको सूचना अधिकारी खत्रीले बताए ।

 

दैनिक २५० बढीको संख्यामा बिरामी आउने गरेकाले अस्पतालमा बेड संख्या कम रहेको सूचना अधिकारी खत्रीले जानकारी दिए । करिब ५ बिघा क्षेत्रफलमा रहेको उदयपुर जिल्ला अस्पताल गाईघाट १५ शय्या, २५ शय्या हुँदै क्षमता विस्तार गरी ०६८ मा ५० शय्यामा स्तरोन्नति भएको हो ।