close

जुम्लामा फैलियो ओमिक्रोन, बच्चासहित ८ जना संक्रमित 

जुम्लामा फैलियो ओमिक्रोन, बच्चासहित ८ जना संक्रमित 

Trulli
ADVERTISEMENT

जुम्ला–कोरोना संक्रमणको दोस्रो लहरमा जुम्लाले मानवीय क्षति बेहोर्नुपरेको थियो । पहिलो लहरमा मानवीय क्षति हुनबाट जोगिएको जुम्लाले संक्रमणको दोस्रो लहरमा २३ जनालाई गुमाउनुप-यो । 

 

दोस्रो लहरमा ज्यान गुमाएका २३ जनामध्ये बढी ज्येष्ठ नागरिक थिए । कोरोना संक्रमण तेस्रो लहर पनि जुम्लामा फैलिइसकेको छ । कोरोना संक्रमणको परीक्षणमा ८ जना संक्रमण देखिएको छ ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक राजीव शाहले कोरोनाको तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि प्रतिष्ठान तयारी अवस्थामा रहेको जानकारी दिए ।

 

उनले भने, ‘प्रतिष्ठानमा १२० वटा आइसोलेसन बेड तयारी अवस्थतामा छन् । आईसियू बेड, अक्सिजन पनि तयारी अवस्थामा छन् । प्रतिष्ठानमा पिसिआर किट अभाव छ । त्यसका लागि सम्बन्धित ठाउँमा माग गरेका छौँ ।’ अहिले जुम्लामा ८ जना कोरोना संक्रमित छन् । ३ वर्षका १ जना बच्चासहित ८ जना संक्रमित छन् । बच्चाको प्रतिष्ठानमा उपचार भइरहेको उनले बताए । 

 

कोरोना संक्रमणको तेस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थापन गर्न सुझाएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । उनले भनिन्, ‘सबैभन्दा बढी जिम्मेवारी अस्पताल र स्वास्थ्यकर्मी नै हुन् ।’ 

 

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले संक्रमणको तेस्रो लहर चुनौतीपूर्ण रहेकाले प्रतिष्ठानलाई थप तयार हुन उनले आग्रह गरे । उनले भने, ‘प्रतिष्ठानले गरेको तयारी र पूर्वाधार तथा सेवा चुस्तदुरुस्तका साथै सचेत हुन आवश्यक
छ ।’ 

 

सर्वसाधारणलाई मास्क वितरण 

 

चन्दननाथ नगरपालिका उपप्रमुख अप्सरादेवी न्यौपानेको नेतृत्वमा नागरिकलाई कोरोना भाइरसबाट जोगिन मास्क वितरण गरिएको छ । कोरोना भाइरसको तेस्रो लहरको जोखिमलाई लक्षित गर्दै जुम्ला बजारका नागरिकलाई मास्क वितरण थालेकी हुन् ।

 

जुम्लाको बसपार्क, कालेखोली, एयरपोर्र्ट, भारतीवाडा र अस्पताल क्षेत्रका सर्वसाधारणलाई मास्क वितरण गरिएको उपप्रमुख न्यौपानेले बताइन् । उनले भनिन, ‘नारिकलाई सुरक्षित बनाउन माइकिङ गर्दै मास्क वितरण गरेका हौँ । मास्क वितरणसँगै सचेतना पनि दिन थालेका छौँ ।’

 

युनिसेफको आर्थिक सहयोग, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको समन्वयमा झन्डै ३ हजार मास्क वितरण गरिएको उनले जानकारी दिइन् । नागरिकले मास्क लगाउन छाडिसकेको अवस्थामा कोरोना महामारीबाट बचाउन करिब ३ हजार पिस मास्क वितरण गरिएको उनले बताइन् । 

 

‘बजारमा मास्क वितरण गर्दा धेरैले नलगाएको पाइयो । नागरिकलाई पहिलो पटक मास्क दिँदै घरबाहिर निस्कँदा अनिवार्य लगाउन भनेका छौँ’, उनले भनिन् ।

 

खोप लगाउनेको भीड 

 

कोरोना संक्रमणबाट बच्न खोप केन्द्रमा नागरिकको भीड लाग्न थालेको छ । सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य नीति लिएपछि खोप लगाउने नागरिकको भीड लाग्न थालेको हो । 

 

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखामा २ माघदेखि खोप लगाउनेको भीड लाग्दै आएको छ । स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार २ देखि ६ माघसम्म खोप लगाइनेछ । 

 

उनले भने, ‘दैनिक ४÷५ सय नागरिकलाई कोरोना संक्रमणविरुद्धको खोप लगाउँदै आएका छौँ । चन्दननाथ नगरपालिकाको जम्मा जनसंख्या २४ हजार छ । तर, यो शाखाबाट २२ हजार बढी नागरिकलाई खोप लगाइसकेका छौँ ।’

 

खोप लगाउने सबै नगरभित्रका नागरिक नभएको उनले बताए । जिल्ला सदरमुकाम भएकाले पनि सबै पालिका तथा जिल्ला बाहिरका नागरिक चन्दननाथ नगरपालिकाको खलंगामा केन्द्रित हुने गरेका छन् ।

 

सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक सभा, सम्मेलन तथा धेरै जना उपस्थित हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न कोभिड संकट व्यवस्थापन समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताइन् । यस्तै, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिक स्थलमा २५ बढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको छ । 

 

७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थल कार्यालय, होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात र बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । 

 

कोभिडविरुद्धको स्वास्थ्य सुरक्षा र मापदण्ड पालन नगर्नेलाई कोभिड व्यवस्थापन आध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने स्थानीय प्रशासनले बताएको छ । 

 

२३ जनाको मृत्यु

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २० वैशाख ०७७ देखि कोभिड परीक्षण ल्याब सञ्चालनमा आएको हो । संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो । 

 

यसमध्ये ४ सय ६३ जना नागरिकमा संक्रमण देखिएको थियो । दोस्रो लहरको संक्रमण जुम्लामा ०७८ वैशाखदेखि देखिएको हो । ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमण देखिएको थियो भने ३ हजार ८ सय २ जनाको एन्टिजेन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएका थिए । 

 

जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख
छ । जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन् । पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेका छन् ।