close

भरतपुर आँखा अस्पतालको नयाँ भवन शिलान्यास

भरतपुर आँखा अस्पतालको नयाँ भवन शिलान्यास

Trulli
ADVERTISEMENT

चितवन–चितवनमा भरतपुर आँखा अस्पतालको नयाँ भवन शिलान्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण प्रक्रिया थालिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालले भवन शिलान्यास गरेकी हुन् ।

 

अस्पतालले कुल १४ करोड ३५ लाख रुपैयाँ लागतमा सुविधासम्पन्न भवन बनाउन लागेको हो । भवन निर्माणको पहिलो चरणअन्तर्गत ४ करोड १२ लाख ५० हजार ५९३ रुपैयाँमा काम सुरु गर्न लागेको अस्पतालले जनाएको छ । 


बजेट अभावका कारण हाललाई सुरु मात्रै गर्न लागिएको नेपाल नेत्र ज्योति संघका सभापति एवं भरतपुर आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णराज धरेलले बताए । 


निर्माण थालेको ६ महिनामा पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्य छ । तीन तलाको उक्त भवन निर्माण सम्पन्न भए भुइँतलामा बच्चा वार्ड, जनरल वार्ड र दोस्रो तलामा शल्यक्रिया कक्ष सञ्चालन हुनेछ ।


अस्पतालमा हाल ६२ शय्या सञ्चालनमा छन् । अस्पतालमा नवनिर्मित भवन निर्माण काम सकिएसँगै १०० शय्या थप हुने अस्पतालका प्रशासक दयाशंकर चौधरीले बताए ।


यो भवनबाट सेवा सञ्चालन भएपछि आँखामा सेवाग्राहीलाई जटिलभन्दा जटिल खाले समस्या उपचार गर्न जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य हुने चौधरीको भनाइ छ ।


शिलान्यास कार्यक्रममा महानगर प्रमुख दाहालले भवन निर्माणका लागि महानगरले १ करोड रुपैयाँ सहयोग गर्ने बताइन् । उनले तत्काल आधा रकम र बाँकी आगामी आर्थिक वर्षमा प्राप्त हुने गरी सुनिश्चितता गराउने प्रतिबद्धता व्यक्त गरिन् । सरकारको एक सहर एक पहिचान रूपमा भरतपुर मेडिकल सिटीको रूपमा विकास भएकाले यहाँको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन महानगर प्रयासरत रहेको उनको भनाइ छ । 

 


१८ चैत ०४४ मा आँखा रोगको निदान एवं उपचारको उद्देश्य राखेर स्थापना भएको अस्पतालले बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण गर्न लागेको हो । स्थापना कालमा ३६ शय्याबाट सेवा दिएको अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया, जलबिन्दुको शल्यक्रिया, क्यालेजियन टेरिजियम र अन्य आँखाका सामान्य रोगको निदानका गरिनुका साथै चस्मा र औषधी सेवा दिइँदै आएको छ ।

 

अस्पतालले सेवा विस्तार गर्दै लगेको छ । हाल अस्पतालमा बहिरंग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरंग सेवा, जलबिन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लास्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवा, चस्मा जाँच सेवा, सामान्य शल्यक्रिया, आँखा स्वास्थ्य परामर्शलगायत सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

 

भरतपुर आँखा अस्पतालमा मात्रै हाल दैनिक ४ सयदेखि ५ सय बहिरंग सेवाका बिरामी आउने गरेका छन् भने १५ देखि २० जनाको शल्यक्रिया हुने गरेको छ ।