close

कानेपोखरीबासीलाई घरआँगनबाटै स्वास्थ्य सेवाको पहुँच

कानेपोखरीबासीलाई घरआँगनबाटै स्वास्थ्य सेवाको पहुँच

Trulli
ADVERTISEMENT

मोरङ– चार वर्षअघिसम्म मोरङको कानेपोखरी गाउँपालिकामा जम्मा तीन वटा मात्र स्वास्थ्य चौकी थिए । पर्याप्त स्वास्थ्य संस्था र जनशक्ति नहुँदा नागरिक सामान्य स्वास्थ्योपचार सेवाबाट समेत वञ्चित थिए । तर, पछिल्लो साढे चार वर्षमा स्वास्थ्य क्षेत्रका समस्यालाई चिर्दै जनप्रतिनिधिले पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गर्न दीर्घकालीन योजना बनाए । स्वास्थ्य संस्थाको कमजोर अवस्थालाई उकास्ने प्रयत्न गरेकै कारण अहिले कानेपोखरीबासीले घरआँगनबाटै स्वास्थ्य सेवा पाउन थालेका छन् । 

 

कानेपोखरीमा जम्मा तीन वटा स्वास्थ्य चौकी, दुई वटा क्लिनिक २१ वटा फार्मेसी र एउटा बर्थिङ सेन्टरबाट पालिकाबासीले सेवा लिनुपर्ने बाध्यता थियो । स्वास्थ्य संस्थामै गएर दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउनेको संख्या ६० प्रतिशत मात्रै थियो । तर, ४० प्रतिशतले यो सेवा पाएका थिएनन् । गर्भवती हुँदा र सुत्केरी भएपछि स्वास्थ्य जाँच गराउनेको संख्या ५२ प्रतिशत मात्रै थियो । 

 

स्थानीय सरकारको योजनामा संघीय र प्रदेश सरकारले गरेको आर्थिक सहयोगका कारण अहिले कानेपोखरीमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि भएको छ । स्वास्थ्य संस्थाका भौतिक संरचना निर्माण भएका छन् । सामान्य उपचारका लागि जिल्ला अस्पताल धाउनुपर्ने यहाँका नागरिकको बाध्यता अन्त्य भएको छ । अहिले गाउँपालिकामा चार वटा आधारभूत स्वास्थ्य केन्द्र, दुई वटा स्वास्थ्य चौकी निर्माण भएका छन् । बर्थिङ सेन्टरको संख्या दुई पुगेको छ भने १५ शय्याको कानेपोखरी अस्पताल निर्माणको अन्तिम चरणमा छ । प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गरिएको छ भने तीन वटा एम्बुलेन्सले २४ सै घन्टा सेवा दिँदै आएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले बताए ।

 

गाउँपालिकामा जनप्रनिनिधि आउनुअघि ३ वटा स्वास्थ्य चौकी, २१ वटा फार्मेसी, २ वटा क्लिनिक, एउटा बर्थिङ सेन्टर निर्माण गरिएको थियो । तर, अहिले प्रत्येक वडामा स्वास्थ्य चौकी, २ वटा बर्थिङ सेन्टर, ४ वटा आधारभूत स्वास्थ्य केन्द्र र १५ शय्याको कानेपोखरी अस्पताल निर्माण, परिवार नियोजनका सेवा उपलब्ध गराउने स्वास्थ्य संस्था ३ वटा र  ३ वटा एम्बुलेन्सबाट नागरिकलाई सेवा र महिला स्वयंसेविकाको संख्या २७ जना रहेको छ । 

 

स्वास्थ्य क्षेत्रमा कानेपोखरीमा आएको परिवर्तनलाई हेर्दा प्रत्येक वर्षको नीति तथा कार्यक्रममा तय गरेका योजनालाई सफल बनाउन मद्दत पुगेको देखिन्छ । बजेटअनुसार नै विपन्न, असहाय र ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा हुँदा नागरिक अहिले उपचार पाउनबाट वञ्चित हुनुपर्ने समस्याबाट मुक्त भएका छन् । स्वास्थ्य बिमा सञ्चालन गरिएका कारण अस्पतालबाट निःशुल्क औषधी लिन सहज भएको छ । वार्षिक १७ सय बढीले स्वास्थ्य बिमा गराइरहेका छन् । घन्टौँ लगाएर उपचारका लागि पर्खनुपर्ने बाध्यता अन्त्य हुँदा नागरिक जनप्रतिनिधिको कामप्रति सन्तुष्ट रहेको वडा नम्बर ४ का स्थानीय भगतराम धिमाल बताउँछन् ।

 

स्वास्थ्य क्षेत्रको स्तरोन्नतिका लागि कानुन, ऐन र मापदण्ड तयार गर्न पनि जनप्रतिनिधि पछि परेनन् । कोरोना महामारी नियन्त्रण गर्दा होस् वा सहज सेवा पु¥याउन नै किन नहोस्, ९ वटा वडालाई पायक पर्ने गरी कानेपोखरी सामुदायिक अस्पतालसमेत सञ्चालनमा ल्याइएको कानेपोखरी अस्पतालका मेडिकल अधिकृत डा.रामशंकर यादवले जानकारी दिए ।

 

सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाउन जनप्रतिनिधिले बर्थिङ सेन्टरमै बच्चा जन्माउनेलाई ५ हजार भत्ता दिने अभियान चलाइरहेको छ । छोरी जन्मेमा बैंक खाता खोलेर बालिकाको नाममा रकम जम्मा गरिदिने व्यवस्था पनि गरेको छ । सुत्केरी स्याहार–सुसार र न्यानो झोला वितरण गर्न जनप्रतिनिधि सुत्केरीको घर पुग्ने गरेका छन् । नागरिकलाई निरोगी बनाउने लक्ष्य लिएर अघि बढ्दा सफलता हात लागेको पालिकाका वडाध्यक्ष ताराबहादुर काफ्लेको दाबी छ ।

 

पूर्वाधार निर्माण र स्वास्थ्य संस्थाको विकासमा मात्र नभई जनप्रतिनिधिले विद्यालयमा नै स्वास्थ्यसम्बन्धी चेतना प्रवाह गरिरहेको छ । छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रम प्रभावकारी बनेको छ । छात्रासँग उपाध्यक्ष कार्यक्रम लागू गरेर छात्राको समस्या सुनिदिँदा जनप्रतिनिधिले सुख,दुःखमा साथ दिएको अनुभूति नागरिकले गर्न पाएका छन् । जनप्रतिनिधिको अग्रसरताले २०८८ सम्म स्वास्थ्य सेवाको पहुँच बाहिर परेकालाई समेट्ने राष्ट्रिय आकांक्षा पूरा हुने आधारशिला तयार भएको छ  ।