close

रंगेलीमा सहज बन्यो स्वास्थ्य सेवाको पहुँच

रंगेलीमा सहज बन्यो स्वास्थ्य सेवाको पहुँच

Trulli
ADVERTISEMENT

मोरङ– स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच पुर्‍याउन मोरङको रंगेली नगरपालिकाका जनप्रतिनिधि सक्रिय हुँदै आएका छन् । नगरपालिकाले स्वास्थ्य केन्द्र स्थापना र अस्पताल निर्माणलाई प्राथमिकता दिएसँगै नागरिकले स्वास्थ्य संस्थाबाट सहजै उपचार पाउने अवस्था बनेको छ । नियमित स्वास्थ्य सेवा र कोरोना महामारी नियन्त्रणमा जनप्रतिनिधिले गरेको पहल क्रमशः सफल हुँदै गएको छ । 

 

रंगेली नगरपालिकाको जनसंख्या झन्डै ६० हजार छ । जनप्रतिनिधि आउनुअघि तीन वटा स्वास्थ्य चौकी र एउटा मात्रै रंगेली अस्पताल हुँदा नागरिकको स्वास्थ्य क्षेत्रमा पहुँच थिएन । तर, अहिले अवस्था फेरिएको छ । ९ वटै वडामा स्वास्थ्य चौकी र ५ वटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेका छन् । तीन वटा हेल्थ पोस्ट, एउटा सहरी स्वास्थ्य केन्द्र र एउटा सरकारी अस्पतालबाट नागरिकले सेवा पाइरहेका छन् । नगरका ७५ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेर विभिन्न स्वास्थ्य संस्थाबाट निःशुल्क स्वास्थ्य सेवा र औषधी पाइरहेको रंगेली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनाल बताउँछन् ।

 

रंगेली अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको छ भने एमबीबीएस अध्ययन गरेका चिकित्सकबाट निरन्तर उपचार र परीक्षण गर्ने गरिएको छ । २४ घन्टै सेवा प्रदान गर्न अस्पतालमा आकस्मिक कक्ष, अपरेसन थियटर, निःशुल्क औषधी वितरण भइरहेको छ । कोरोना महामारीमा समेत नगरपालिकाले अस्पतालको स्तरोन्नति गर्दा नागरिकको ज्यान जोखिममा पर्न नपाएको नगरप्रमुख दिलीपकुमार अग्रवालले जानकारी दिए ।

 

नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क साइकल वितरण गर्नेदेखि बालबालिका पोषण कार्यक्रम पनि लागू गरेको छ । नगरको बबियाबिर्ता र रञ्जनी स्वास्थ्य चौकीमा जनशक्तिसँगै ल्याबको व्यवस्था गरिएको छ ।  सुत्केरी र गर्भवतीलाई कुनै स्वास्थ्य समस्या भएको थाहा पाउनेबित्तिकै चिकित्सक लिएर जनप्रतिनिधि घरमै पुग्ने गरेका  छन् । अस्पतालमा खोप, सामान्य शल्यक्रिया पनि सञ्चालन हुन थालेपछि बिरामी हुँदा विराटनगरसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको रंगेली अस्पतालका मेडिकल अधिकृत डा. अरुण भट्टराईले बताए ।

 

कोरोना महामारीले नगरलाई आक्रान्त बनाउँदा होस् वा अन्य समयमै किन नहोस् । स्वास्थ्य क्षेत्रमा नगरले धेरै परिवर्तनका पाइला चालेको छ । निःशुल्क आपतकालीन स्वास्थ्य किट वितरण गर्नेदेखि रक्त सञ्चारगृहलाई निरन्तर सहयोग गरिएको छ । चौबीसै घन्टा एम्बुलेन्स व्यवस्था गरेर नागरिकलाई सहजै अस्पताल ल्याउन सकिने अवस्था सिर्जना भएको छ । नगर उपप्रमुखसँग गर्भवती सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरेर नगरका सुत्केरी र गर्भवतीको स्वास्थ्य अवस्थामा कुनै समस्या आउन नदिने जनप्रतिनिधिको प्रयास प्रशंसनीय छ । प्रजनन स्वास्थ्य, पाठेघर झर्ने तथा स्तन क्यान्सरका बिरामीको निःशुल्क औषधोपचार गरिरहेको वडा नम्बर ४ का वडाध्यक्ष भूपेन्द्रप्रसाद मण्डलको भनाइ छ ।

 

नगरपालिकाले निःशुल्क आपतकालीन स्वास्थ्य किट वितरण, ब्लड बैंकलाई निरन्तर सहयोग, विभिन्न घुम्ती शिविर तथा स्वास्थ्य शिविर सञ्चालन, बबियाबिर्ता र रञ्जनी स्वास्थ्य चौकीमा ल्याब स्थापना, ल्याबका लागि आवश्यक जनशक्ति व्यवस्थापन, एम्बुलेन्स व्यवस्था,
स्वस्थ नागरिकका लागि योग साधना केन्द्र र खुला व्यायामशाला स्थापना, आयुर्वेद केन्द्रलाई निःशुल्क औषधी वितरण, बालबालिकाका लागि पोषण कार्यक्रम, नगर उपप्रमुखसँग गर्भवती सुत्केरी पोषण कार्यक्रम, स्वास्थ्य सामग्री निर्मलीकरणका लागि इन्सिनेटरको प्रबन्ध, प्रजनन स्वास्थ्य, पाठेघर झर्ने, पाठेघर तथा स्तन क्यान्सरका बिरामीको निःशुल्क औषधोपचारको व्यवस्था गर्दै आएको छ ।

 

सबै वडामा स्वास्थ्य सेवाको पहुँच बढ्दै गएको छ । दैनिक ५० देखि ६० जनाले उपचार पाइरहँदा स्वास्थ्यमा रंगेलीले गरेको लगानी देखिन थालेको छ । सरकारले २०८८ सम्म स्वास्थ्य सेवाको पहुँच बाहिर परेकालाई समेट्ने राष्ट्रिय नीति अवलम्बन गरेको छ । यो योजना पूरा गर्न रंगेली अग्रसर छ । दिगो विकासको लक्ष्यमा सबैको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने आधारशिला पनि तयार भएको छ ।