close

"वातावरणमैत्री सहरमा हुर्किएका बालबालिका नै स्वस्थ्य र व्यावहारिक"

"वातावरणमैत्री सहरमा हुर्किएका बालबालिका नै स्वस्थ्य र व्यावहारिक"

Trulli
ADVERTISEMENT

काठमाडौँ । जनसंख्या र सडक सञ्जाल कम भएको र धेरै वनस्पति भएको सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य र व्यवहार राम्रो हुने गरेको एक अध्ययनले पुष्टि गरेको छ । बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ (आईएस ग्लोबल) को नेतृत्वमा गरिएको एक अध्ययनले यो कुरा पत्ता लगाएको हो ।

हरिया र स्वच्छ वातावरणमा हुर्किएका बालबालिकाहरू शारीरिक रूपमा बढी सक्रिय हुन्छन् । शारीरिक श्रम खर्च हुने गतिविधिमा बढी समय बिताउँछन् । धेरै समय सुत्छन् ।  अनि उनीहरू हिँडेर वा साइकल चलाएर स्कुल जाने सम्भावना पनि बढी हुँदा त्यस्ता बालबालिकाको स्वास्थ्य र व्यवहार राम्रो हुने अध्ययनले पत्ता लगाएको हो।

हालसम्म गरिएका धेरैजसो अध्ययनहरूले वयस्कहरूमा सहरी वातावरणको प्रभावलाई हेरेका थिए । यो नयाँ अध्ययनले ६ वटा युरोपेली समूहका ६ देखि ११ वर्ष उमेरका १ हजार ५ सय ८१ बालबालिकामा सहरी वातावरणीय विशेषताहरू र स्वस्थ बानीहरू बीचको सम्बन्धको मूल्याङ्कन गरेको हो।

इनभारोनमेन्ट इन्टरनेसनल नामक जर्नलमा प्रकाशित भएको यो अध्ययनले सहरी वातावरणले बालबालिकामा खराब व्यवहार बढाउनमा कसरी योगदान पुर्‍याउँछ । सहरी विकासको पूर्वाधारमा आएको परिवर्तनले स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्न मद्दत गर्छ कि गर्दैन भन्ने कुरा पनि पत्ता लगाउन खोजेको छ।

अनुसन्धानकर्ताहरूले बालबालिकाको घर र विद्यालय नजिक हरियो ठाउँ वा निलो ठाउँ (समुद्र तट, नदी, ताल, आदि) भएका तथा सडकमा ट्राफिक घनत्व र उपस्थितिलगायतका सहरी वातावरणको ३२ विशेषताहरू आधारमा विश्लेषण गरेर यो निष्कर्ष निकालेका हुन्।

यससँगै अनुसन्धानकर्ताहरूले मध्यमदेखि कडा शारीरिक गतिविधि, विद्यालय समय बाहिरको शारीरिक गतिविधि, सक्रियता ( हिँड्ने, साइकल चलाउने, आदि) साथै सुत्ने अवधि र केही नगरीकनै बिताएको समयलगायत बच्चाहरूको स्वस्थ बानीहरूको बारेमा जानकारी पनि सङ्कलन गरेर विश्लेषण गरेका हुन। अनुसन्धानकर्ताहरूले मल्टीएक्सपोजर मोडेल विकास गर्न यी सूचनाहरू प्रयोग गरेका थिए।

सहरी मोडल र स्वास्थ्य

अध्ययनले धेरै वनस्पति भएको सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा हिँड्ने, साइकल चलाउनेलगायतका शारीरिक गतिविधिमा वृद्धि भएको र केही नगरीकनै निष्क्रिय बस्ने समय कम भएको पत्ता लाग्यो। यसका अतिरिक्त सडकको निकटता वा सडक नजिक बस्ने बालबालिकाको हरेक रात औसत ४.८० मिनेटले सुत्ने अवधि घटेको पनि पाइएको छ।

अध्ययनमा समावेश मध्ये ६३.६ प्रतिशत बालबालिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले हरेक दिन कम्तीमा ६० मिनेटको कडा शारीरिक गतिविधिको हालको सिफारिसलाई पूरा गरेका छैनन्। यसैगरी ५८.६ प्रतिशत बालबालिकाले दैनिक दुई घण्टा टिभी हेरेर वा कम्प्युटर वा भिडियो गेम खेलेर बिताउने गरेका छन् । यसका साथै, यातायातको अभाव भएका क्षेत्रमा बालबालिकाले घरदेखि विद्यालयसम्मको यात्रामा दैनिक औसत ६.९ मिनेट खर्च गरेको पाइयो।

आईएस ग्लोबलमा बालबालिका र वातावरण कार्यक्रमका प्रमुख तथा यस अध्ययनका अनुसन्धानकर्ता मार्टीन व्रिजिद भन्छन्, “हाम्रो अध्ययनको निष्कर्ष सहरी योजना नीति तर्जुमाका लागि अत्यन्त महत्त्वपूर्ण छ।” मार्टीन व्रिजिदका अनुसार अध्ययनको निष्कर्षले बालबालिकाहरूमा स्वास्थ्य- प्रवर्द्धन गर्ने व्यवहारहरू सुधार गर्न र वयस्कहरूमा स्वास्थ्यका खराब प्रभावहरू रोक्न सहरी डिजाइनमा परिवर्तनलाई प्राथमिकता दिनु पर्ने आवश्यकतामा जोड दिइएको छ। यसैगरी सडकमा हरियो ठाउँको संख्या र वनस्पतिको मात्रा बढाउने रणनीति हुनुपर्ने अध्ययनको निष्कर्ष छ।

अध्ययनकर्ता व्रिजिद भन्छन्, “हिँड्ने ठाउँहरू र टेबल टेनिसका टेबलहरू, भलिबल कोर्टहरूलगायतका खेलकुद सुविधाहरूको उपलब्धताजस्ता बालबालिका र किशोर किशोरीहरूको व्यवहारसँग सान्दर्भिक हुन सक्ने अन्य सहरी सुविधाहरू समावेश गरेर हामीले थप अनुसन्धान गर्नुपर्छ। यस्ता खाले अध्ययन कम भएका देशहरू र क्षेत्रहरूलाई समेटेर सहरी वातावरणमा भएका परिवर्तनहरूले मानिसहरूको जीवनशैलीलाई कसरी असर गर्छ भन्ने राम्रोसँग मूल्याङ्कन गर्न आवश्यक छ।”