close

सेनाले स्तरोन्नति गरेको भवन वडालाई हस्तान्तरण

सेनाले स्तरोन्नति गरेको भवन वडालाई हस्तान्तरण

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ काठुगणेशमा नेपाली सेनाले स्तरोन्नति गरेको प्रसूतिगृह भवन मङ्गलबार वडालाई हस्तान्तरण गरेकाे छ।

नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलको व्यवस्थापन तथा श्रमदानमा स्तरोन्नति गरिएको उक्त भवन उपत्यका पृतनापति उपरथी योगराज शर्माले उद्घाटन गर्दै वडालाई हस्तान्तरण गरेका हुन्।  पृतनापति शर्माले स्थानीय सरकार र समुदायले  आवश्यकता महसुस गरेपछि सेनाले भवनको स्तरोन्नति गरेको बताए। स्तरोन्नतिपछि स्थानीइ तथा छिमेकी खानीखोला र बेथानचोक गाउँपालिकाका बासिन्दाले समेत सहजताका साथ प्रसूति सेवा लिन सक्नेछन् । 

‘सेनाले सामाजिक कार्य गरेर नागरिक र सैनिकबीच सम्बन्ध सुदृढ गर्दैआएको छ’, उनले भने। सो अवसरमा पृतनापति शर्माले सेनाले गरेका कार्यबारे जानकारी गराएका थिए। प्रसूतिगृहमा आवश्यक सामग्री सैनिक श्रीमती सङ्घले छिट्टै उपलब्ध गराउने  उनले बताए।

कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सेनासँग समन्वय गरेर विभिन्न कार्य गरिने  बताए। कार्यक्रममा पनौती नगरपालिका–७ का वडाध्यक्ष सविन ताम्राकारले प्रसूतिगृहको स्तरवृद्धि गरी दश शय्याको अस्पताल निर्माण गर्ने योजना रहेको बताएका छन्। वडा नं–७ स्थित उक्त भवन दुई महिना लगाएर स्तरोन्नति गरिएको थियो ।