close

स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीय तह

स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीय तह

Trulli
ADVERTISEMENT

बागलुङ - बागलुङका स्थानीय तहले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पूर्वाधार तथा उपकरणको व्यवस्थापनमा ध्यान दिन थालेका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार, उपकरण र स्रोत साधनको व्यवस्थापनमा स्थानीय तहले ध्यान दिन थालेका हुन् ।  

गलकोट नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पताल चर्चामा छ । गलकोट र आसपासका बिरामीले अस्पतालबाट चिकित्सकसहितको सेवा लिइरहेका छन् । अस्पतालका लागि आवश्यक पूर्वाधार, प्रयोगशाला र चिकित्सककोसमेत व्यवस्था गरेर नगर अस्पताल सञ्चालनमा आएको हो । अस्पताल सञ्चालनमा आएदेखि नै दैनिक बिरामीको चाप बढ्दो क्रममा रहेको अस्पतालमा प्रमुख डा राजेश पौडेलले बताए । 

यसअघि गलकोट क्षेत्रका सर्वसाधारणलाई समान्य उपचारका लागिसमेत जिल्ला सदरमुकाम वा छिमेकी जिल्ला धाउनुपर्ने बाध्यता थियो । जैमिनी नगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनको तयारी गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा प्रयोगशाला विस्तार र नगर अस्पताल सञ्चालनका लागि जग्गा व्यवस्थापन लगायतका काम भइरहेको नगर उप्रमुख हरिहर शर्मा बताउँछन् । 

कुश्मीशेरा प्राथमिक स्वास्थ्यचौकीको सुधार, विस्तार, चिकित्सकको व्यवस्थापन र पूर्वाधार विकासले त्यहाँ बिरामीको चाप छ । सदरमुकामसमेत रहेको बागलुङ नगरपालिका–१३ पैँयुपाटामा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पताल भवन निर्माणाधिन छ । नगरका हरेक वडामा प्रयोगशालासहित स्वास्थ्यकर्मीको सेवा विस्तार गर्ने योजना नगरपालिकाले अघि सारेको छ । 

'हामी नागरिकको स्वास्थ्यप्रति गम्भीर र संवेदनशील छौँ', नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने, 'कम्तीमा आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ बनाउनै पर्छ ।' जिल्लाको निसीखोला गाउँपालिकाले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । 

गाउँपालिकाले आव २०७९/८० को बजेटमा रु २० लाख १० हजार बजेट विनियोजन गरेर एम्बुलेन्स ल्याएको हो । यसअघि सो गाउँपालिका एम्बुलेन्सविहीन थियो । एम्बुलेन्स सञ्चालनका लागि कानुनी प्रक्रियाअनुसार अनुमति लिएर अगाडि बढ्ने र पालिकाले कार्यविधि तथा भाडादर निर्धारण गरेपछि एम्बुलेन्स सञ्चालन हुने गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए।

बरेङ गाउँपालिकाले सामुदायिक फार्मेसीमार्फत नागरिकलाई घरघरमै सबैखाले रोगका औषधि उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाका स्वास्थ्यचौकीमा आधारभूत तहको भिडियो एक्स–रे सञ्चालनमा ल्याएको गाउँपालिकाले स्वस्थ्यकर्मीको व्यवस्थापन र उपचार पद्धतिलाई प्राथमिकतामा राखेको छ ।

बडिगाड गाउँपालिकाले क्षयरोग, कुष्ठरोगजस्ता सरुवा रोगको खोजी र उपचार गर्ने कार्यलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नागरिक स्वस्थ रहेमात्रै विकास हुने धारणा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले राख्ने गरेका छन् । 

विकास भन्नेबित्तिकै सडक, भवनजस्ता संरचना सम्झिने परिपाटीलाई विस्तारै स्थानीय तहले स्वास्थ्य क्षेत्रको विकासलाई पनि ध्यान दिन थालेकामा स्वास्थ्यकर्मीले खुसी व्यक्त गर्छन् । जिल्लाका १० स्थानीय तहमध्ये अब केही स्थानीय तहमा एम्बुलेन्स सेवा छैन । बाँकी सबै स्थानीय तहमा एम्बुलेन्स सञ्चालनमा आउँदा नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुन नपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।