close

नगरप्रमुखले मायाको चिनो फिर्ता गरेपछि...

नगरप्रमुखले मायाको चिनो फिर्ता गरेपछि...

Trulli
ADVERTISEMENT

चितवन - गत साउनमा सम्पन्न एक कार्यक्रममा रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा प्रमुख अतिथि थिए । रोटरी क्लवद्वारा आयोजित कार्यक्रममा नगरप्रमुख सापकोटाले मायाको चिनोस्वरुप करिब ३० हजार बराबरको बुद्धको मूर्ति पाएका थिए । 

हजारौं खर्चमा किनिएको बुद्धको मूर्ति लिँदै गर्दा नगरप्रमुख सापकोटाको मनमा सिटामोल किन्नै नसक्ने परिवारको ‘व्यथाको चित्र’ चलचित्रजस्तै खेल्न थाल्यो । आँखामा ती दुःखहरू देखिन थाल्यो । अनि नगरप्रमुख सापकोटाले आयोजकलाई उक्त मायाको चिनोबापतको मूर्ति फिर्ता गर्ने निर्णय गरे । उनले आयोजकलाई मायाको चिनो फिर्ता गर्दै भने, ‘यो मूर्ति किनेकै ठाउँमा सम्झाएर फिर्ता गर्नुस् अनि उक्त रकमले जति परिवारको स्वास्थ्य बीमा पुग्छ, बीमा गर्दिनुस् ।’ 

त्यसपछि सुरु भयो, विपन्न छान्ने र मूर्ति फिर्ता गर्ने काम । सबै प्रक्रिया सकेर आज ४ विपन्न परिवारले स्वास्थ्य बीमा गर्न पाएका छन् । पालिकाखबरसँगको संवादमा मेयर सापकोटाले भने ‘मायाको चिनो दिनु/लिनु सम्मान हो तर योभन्दा राम्रो काम छ भने यस्ता खर्च त्यहाँ लगानी गरौं भनेर विपन्नको बीमा गरिदिएको हुँ । ’

नगरप्रमुख सापकोटाका अनुसार यस कदमले विपन्न परिवारको बीमा गर्दा नयाँ जीवन पाउँछन् अनि सामान्य उपचारकै लागि ऋण काढ्नुपर्ने बाध्यता हट्छ । साथै सामाजिक कार्यमा खर्च गर्ने यो घोषणाले अझ धेरैको स्वास्थ्य बीमा हुने उनको विश्वास छ । 

उक्त मायाको चिनो फिर्ताबाट चार परिवारका १८ जनाको स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार धनमान सुनुवारको ४ जना, विशाल वाइवाको ५ जना, लिलावती गुरुङको ४ जना र रामबहादुर सुनारको ५ जनाको स्वास्थ्य बीमा गरिएको हो ।