close

बाटोमै जन्माए अदानचुलीका ३ आमाले शिशु

बाटोमै जन्माए अदानचुलीका ३ आमाले शिशु

Trulli
ADVERTISEMENT

हुम्ला- अदानचुली गाउँपालिकामा बर्थिङ सेन्टर अभाव हुँदा बाटो-बाटोमै बच्चा पाउनुपर्ने बाध्यता धेरै देखिएका छन् । गत वर्षमात्र पालिकामा रहेको बर्थिङ सेन्टरमा ल्याउदा ल्याउँदै ३ जनाले बाटोमै बच्चा जन्माएका गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हंस महताराले पालिकाखबरलाई बताए । 

वडा नम्बर ३ मा रहेको श्रीनगर स्वास्थ्य चौकी ल्याउदै गर्दा १ जना र वडा नम्बर ५ को लौथी स्वास्थ्य चौकी ल्याइँदै गर्दा २ जनाले बाटैमा बच्चा जन्माएका हुन् ।  

उनका अनुसार पालिकामा वडा नम्बर ३ र वडा नम्बर ५ मा गरी २ वटामात्र बर्थिङ सेन्टर छन् । त्यहाँसम्म आइपुग्नका लागि घण्टौ हिँड्नुपर्ने बाध्यता छ । पालिकाको अनुसार गत वर्ष ९२ जना पालिकाभर सुत्केरी हुँदा ११ जनाले घरमै बच्चा जन्माएका थिए । स्वास्थ्य शाखा प्रमुख महतारा भन्छन्,‘भौगोलिक विकटता र जनचेतनाको अभावका कारण समस्या विकराल बन्दैछ ।’

यही समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षभित्र वडा नम्बर १ र ६ मा बर्थिङ सेन्टर थप्ने तयारी गरिरहेको छ । अहिले तीव्रताका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ ।