close

बनेपाका स्वास्थ्यकर्मी गाउँगाउँमा पुगेर नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै

बनेपाका स्वास्थ्यकर्मी गाउँगाउँमा पुगेर नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक- बनेपा नगरपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । नगरपालिकाले हरेक वडामा स्वास्थ्य क्लिनिकमार्फत सुरु गरेको स्वास्थ्य परीक्षण अभियानमार्फत स्थानीयमा के कस्ता रोग छ भन्ने तथ्याङ्क सङ्कलनसमेत भइरहेको जनाएको छ ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि तत्कालीन र दीर्घकालीन स्वास्थ्य नीति बनाउने उद्देश्यले अभियान सुरु गरिएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । 'उपलब्ध स्रोतसाधानले भ्याएसम्म अधिकतम सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ', उनले भने । वडास्तरका क्लिनिकमा स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्शसमेत दिइन्छ ।

क्लिनिकमा बालबालिका, गर्भवती, जेष्ठ नागरिकको पनि स्वास्थ्य जाँच तथा परामर्श दिइन्छ । समयमा स्वास्थ्य परीक्षण गराई आफ्नो स्वास्थ्यप्रति सचेत रहन नगरले अपील गरेको छ । नगरपालिकाले यही असोज १२ गतेदेखि तेस्रो चरणको अभियान सञ्चालन गरेको हो ।

क्लिनिकमा नसर्ने रोगको उपचार तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिँदै आइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतोले बताए । उनका अनुसार यसअघि साउनमा पहिलो चरण र भदौमा दोस्रो चरणको क्लिनिक सञ्चालन गरिएको थियो । 

पहिलो चरणमा चार हजार दुई सय ९६ र दोस्रो चरणमा तीन हजार २८ स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षण गराएकामध्ये अधिकांशमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको महतोले बताए । यसका अतिरिक्त नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार ३८२ विद्यार्थीको निःशुल्क आँखा परीक्षण अभियान थालिएको छ । वडा न ६ स्थित भक्तेश्वर माध्यमिक विद्यालयबाट आँखा परीक्षणको औपचारिक सुरुवात गरिएको हो । 

 “स्थानीय नागरिकका लागि आधारभूत स्वास्थ्य उपलब्ध गराउने नगरको दायित्व भएकाले आँखालगायत नसर्ने रोग नियन्त्रण र त्यसको परीक्षण तथा पहिचान गरी उपचार गर्ने गरी अभियान शुरु गरेका हौँ”, शाक्यले भने । 

नगरका बालबालिका, महिला र जेष्ठ नागरिकका साथ नगरभित्रका विपन्न समुदायका नागरिकलाई सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरले आधारभुत अस्पताल, स्वास्थ्य चौकीको स्तरोन्नति तथा सुविधा सम्पन्न बनाउँदै लगिएको नगर उपप्रमुख विमला सापकोटाले बताए । उनका अनुसार अभियानअन्तर्गत आँखा परीक्षणसँगै तत्कालै आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराइएको छ ।