close

न स्वास्थ्य चौकीको भवन छ, न सुत्केरी गराउने स्वास्थ्यकर्मी

न स्वास्थ्य चौकीको भवन छ, न सुत्केरी गराउने स्वास्थ्यकर्मी

Trulli
ADVERTISEMENT

धनुषा - धनौजी गाउँपालिकामा नाममात्रको स्वास्थ्य चौकीको मारमा स्थानीय परेका छन् । गाउँपालिकामा स्वास्थ्य चौकी सञ्चालनमा रहे पनि भवन अभावले स्वास्थ्य चौकीमा उपचारै नपाइने समस्या हुँदा स्थानीय बाहिर जान बाध्य छन् । 

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक उमेश साहका अनुसार गाउँपालिकाभित्र ५ वटा स्वास्थ्य चौकी सञ्चालनमा छन् । तर तीमध्ये एउटा स्वास्थ्य चौकीको मात्रै भवन निर्माण भएको उनले पालिकाखबरलाई बताए । बाँकी चार वटा स्वास्थ्य चौकी वडा कार्यालयको भवनबाट सेवा सञ्चालनमा रहेको उनले सुनाए । 

‘वडा कार्यालयले स्वास्थ्य चौकीको लागि दुई वटा कोठा दिएको छ । दुईमध्ये एउटामा कर्मचारी र अर्को कोठाबाट बिरामीको उपचारको लागि प्रयोग हुँदै आएको छ,’ उनले भने, ‘एउटा कोठामा बिरामीलाई कसरी उपचार गर्ने ?’ सामान्य बिरामी मात्रै स्वास्थ्य चौकीमा पुग्ने गरेका उनले बताए । 

आकस्मिक सेवाको लागि जनकपुर जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनका अनुसार गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालनमा रहे पनि कर्मचारी अभावले पूर्ण रुपमा सेवा बिस्तार हुन सकेको छैन । शाखाले सेन्टरको लागि कर्मचारी मागको लागि अनुरोध गरेर विज्ञापन मात्रै खुलाएको उनले बताए  । ‘कर्मचारी नभएपछि करार सेवाको लागि विज्ञापन त भयो । तर भर्ना हुन सकेन,’ उनले भने, ‘नयाँ हाकिमसाब आएसँगै कर्मचारी परिपूर्ति गर्ने प्रतिबद्धता जनाउनु भएको छ । चाँडै हुन्छ होला ।’

गाउँपालिकामा १५ श्ययाको अस्पताल सञ्चालन गर्न पनि जग्गा अभावले प्रकृया अघि बढ्न नसकेको उनले गुनासो गरे ।