close

बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि

बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि

Trulli
ADVERTISEMENT

बागलुङ- गलकोट नगरपालिका–२ नरेठाँटीमा रहेको बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष ४० जना गर्भवतीले शिशु जन्माए ।

गलकोटको केन्द्रसँग जोडिएको नरेठाँटीमा अहिले उक्त बर्थिङ सेन्टर स्थापना भएपछि शून्य ‘होमडेलिभरी’ भएको तथ्याङ्क छ । संस्थागत सुत्केरी अभियानमा अहिले बागलुङमा धमाधम बर्थिङ सेन्टर स्थापना गर्ने र भइरहेका बर्थिङ सेन्टरको स्तरोन्नति गर्ने कार्य भइरहँदा जिल्लाभर संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । 

फेएरमेडको सहयोग र विवाइसी बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाले पाँच वर्षमा बागलुङका दुर्गम स्थानहरुमा १३ बर्थिङ सेन्टर स्थापना गर्न सहयोग गरेपछि संस्थागत सुत्केरीको सङ्ख्यामा वृद्धि भएको छ । 

परियोजनाले १३ बर्थिङ सेन्टर स्थापना गर्न र ४० बर्थिङ सेन्टर स्तरोन्नति गर्नमा सहयोग पुर्‍याएको ग्रामीण स्वास्थ्य सुधार परियोजनाका कार्यक्रम संयोजक गणेश बरुवालले जानकारी दिए । पाँच वर्षदेखि बागलुङमा क्रियाशील रहेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाले स्थानीय पालिकाको समन्वय र साझेदारीमा नयाँ बर्थिङ सेन्टर स्थापना गर्न, प्रयोगशाला स्थापना गर्न उपकरण र बर्थिङ सेन्टरको स्तरोन्नतिको काम गर्दै आएको बरुवालको भनाइ छ । 

“जिल्लामा हाल ६१ बर्थिङ सेन्टर रहेका छन्, जसमध्ये ५३ बर्थिङ सेन्टरमा हाम्रो सहयोग पुगेको छ, त्यसमध्ये १३ नयाँ बर्थिङ सेन्टर स्थापना गर्न, ४० बर्थिङ सेन्टर स्तरोन्नति र उपकरणमा सहयोग गरिएको छ, परियोजनाले पाँच वर्षमा दुर्गमका १६ स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापना गरेको छ”, उनले भने, “हामीले दीर्घकालीन रुपमा बर्थिङ सेन्टर, प्रयोगशाला सञ्चालनका लागि स्थानीय निकायसँग साझेदारी गरेका छौँ, बर्थिङ सेन्टर स्थापना गर्न हामीले सहयोग गर्छौं, पालिकाले दरबन्दी अनुसारका स्वास्थ्यकर्मी खटाउने गरेको छ ।”

पाँच वर्षमा १३ बर्थिङ सेन्टर स्थापना गर्न दुई लाख बराबरको सहयोग परियोजनाले गरेको छ भने पालिकाले कर्मचारी व्यवस्थापन गरिरहेको छ । त्यसमध्ये परियोजनाले आवश्यक उपकरण, पालिकालाई भिडियो एक्स–रे, बर्थिङ सेन्टरलाई ‘बेबी वार्मर’ र ४६ बर्थिङ सेन्टरमा अत्यावश्यक रहेको शिशुको मुटुको धड्कन मापन गर्ने यन्त्र सहयोग गरेको बरुवालको भनाइ छ ।