close

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण

Trulli
ADVERTISEMENT

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा थारु समुदायका ५४८ जनाको रगत परीक्षण गरिएको छ । 

स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना र शुक्लाफाँटा नगरपालिकाको समन्वयमा सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । रगत परीक्षण गरिएकामध्ये ४२ जनामा बाहक (ट्रेट) देखा परेको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले जानकारी दिए । 

भट्टका अनुसार सिकलसेल एनिमिया वंशानुगत रोग भएकाले बुबाआमाबाट यो बालबालिकामा सर्छ । यो रोग भएका बिरामीका रक्तकोष गोलो आकारको नभएर हँसिया आकारको हुने हुँदा रगत सजिलोसँग बग्न नसक्दा अक्सिजनको मात्रा कमी हुने र बिरामीले असह्य पीडा खेप्नुपर्ने हुन्छ । सामान्यतया रक्त कोषको आयु १२० दिन जति हुने भए पनि सिकलसेल भएका बिरामीमा रक्तकोष १० दिन मात्रै जीवित हुने गरेको भट्टको भनाइ छ ।

सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन् । 

रोगको जटिलताबाट बच्नका लागि सङ्क्रमणविरुद्ध खोप लगाउने, रक्तअल्पताको उपचार गर्ने, आँखा नियमित रुपमा चेकजाँच गराउने, पानी धेरै मात्रामा पिउने र स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधिको सेवन गर्नुपर्ने शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए ।