close

सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया

सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया

Trulli
ADVERTISEMENT

चितवन- भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ४०.४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन् । सो आर्थिक वर्ष ११ हजार ८९४ सुत्केरी हुँदा चार हजार ८११ जनाको शल्यक्रिया गरिएको छ । चालु आर्थिक वर्षको चार महिनामा ४४ दशमलव १२ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका छन् ।

भरतपुर अस्पताल प्रसूति विभागका प्रमुख सुनिलमणि पोख्रेलका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । भरतपुर अस्पताल रिफरल अस्पताल भएकाले पनि शल्यक्रिया गर्नुपर्ने उनले बताए । “यहाँ बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका घटना आउँछन्”, उनले भने, “पचास प्रतिशत त ‘रिफरल केस’ नै हुन्छन् ।”

उच्च प्रश्रव पीडा र गाह्रो भएपछि अन्य अस्पतालले भरतपुर अस्पताल पठाउने गरेको उनले बताए । उनले सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्ने गरेको बताए । सम्पन्न परिवारका महिला प्रश्रव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहने बढिरहेको उनको भनाइ छ ।

भरतपुर अस्पतालमा गत वर्ष सुत्केरी हुने क्रममा पाँच जनाले ज्यान गुमाएका थिए । बच्चा जन्माउने क्रममा एक र बच्चाको जन्म दिएपछि चार जनाको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । यस्तै चालु आवको चार महिनामा २६ शिशुको मृत्यु भएको छ । अघिल्लो आव २०७९/८० मा १०४ शिशुको मृत्यु भएको थियो ।