close

ज्येष्ठ नागरिकको घरमै पुगेर परीक्षण र औषधि सेवा दिँदै गलकोट

ज्येष्ठ नागरिकको घरमै पुगेर परीक्षण र औषधि सेवा दिँदै गलकोट

Trulli
ADVERTISEMENT

बागलुङ- गलकोट नगरपालिका-८ थालेपोखराकी ९६ वर्षीया तलुसी पुनको घरमै नगरपालिकाको विशेषज्ञ चिकित्सकसहितको टोली पुग्यो। चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरी घरमै औषधि दिएपछि उनी दङ्ग परिन्। घरमै चिकित्सक आएर उपचार गर्छन् भन्ने तुलसीले कल्पना पनि गरेकी थिइनन् । 

गलकोट नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख सुशील पौडेल, गलकोट नगर अस्पतालका एमडी जिपी डा राजेश पौडेल लगायतको टोलीले ढेड सय बढी ज्येष्ठ नागरिक तथा स्थानीयको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरेको छ ।

गाउँभन्दा टाढा हुँदा धेरै नागरिक बिरामी भएर पनि अस्पताल पुग्न सक्दैनथे। सामान्य बिरामीले गाउँको सहरी स्वास्थ्य केन्द्रमा उपचार पाउँथे। नगरपालिकाले दूर दराजका नागरिकलाई लक्षित गरी घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर थालेपछि धेरैले सेवा लिन पाए।

पुनले टाढा जान नसक्दा अहिलेसम्म गाउँमै रोग पालेर बस्नु परेको सुनाइन्। घरै नजिक आएको चिकित्सकसहितको टोलीले आफ्नो निःशुल्क स्वास्थ्य जाँच गरी औषधि दिएको उनको भनाइ छ। 
औषधि खाएर निको नभए पुनः चिकित्सकले जाँच गर्ने पुन बताउछिन् । आफूलाई चक्कर आउने र टाउको दुख्नेबाहेक अरू समस्या नभएको सुनाउँदै घरमै आएर उपचार गरिदिँदा खुशी लागेको उनले बताइन्। अहिलेसम्म यो गाउँमा चिकित्सक कहिल्यै नआएको भन्दै पहिलो पटक विशेषज्ञ सेवा लिन पाएको पुनको भनाइ छ।

स्थानीय ६० वर्षीय दुर्गाबहादुर खत्रीले सुविधायुक्त अस्पताल नजिक नहुँदा धेरै नागरिकले दुःख पाएको भन्दै गाउँमा आएको निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिलेको बताए । अहिलेसम्म विशेषज्ञ चिकित्सक आएर गाउँमा यस किसिमको शिविर नभएको भन्दै यसपालि नगरपालिकाले यहाँका नागरिकको समस्या बुझेको उनको भनाइ छ। 

गाउँ–गाउँमा सुविधा सम्पन्न अस्पतालहरू नभए पनि समय–समयमा दूर दराजमा पुगेर स्वास्थ्य सेवा दिँदा धेरै नागरिक लाभान्वित हुने खत्रीले बताए। यो गाउँ अहिलेसम्म विकट रहेको र सडकको अवस्था पनि निकै जोखिमयुक्त हुँदा अस्पतालसम्म सहज रूपमा पुग्न नसकिने उनको भनाइ छ। 

नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी अघिल्लो वर्षदेखि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेकामा यस वर्ष निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर पनि सुरुवात गरेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुशील पौडेलले जानकारी दिए। 

ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधि दिँदा उनीहरूलाई टाढा जान नपर्ने र खर्च पनि नहुने पौडेलको भनाइ छ। नगरपालिकाअन्तर्गत ६० वर्षभन्दा माथिका पाँच हजार ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको उनले बताए। 

ज्येष्ठ नागरिकको घरमै पुगेर सुगर, प्रेसर, आँखा, छालालगायत रोगको जाँच र निःशुल्क औषधि दिने गरेको उनले बताए। यस वर्ष घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण र शिविरका लागि नगरपालिकाले सात लाख विनियोजन गरेको पौडेलको भनाइ छ। नगरपालिकाको ११ वटै वडामा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै विशेषज्ञ स्वास्थ्य शिविर गरिने उनले बताए।