close

उद्योगी व्यवसायीलाई दुःख नदिन सुरक्षा निकायलाई गृहमन्त्री खाँडको निर्देशन 

उद्योगी व्यवसायीलाई दुःख नदिन सुरक्षा निकायलाई गृहमन्त्री खाँडको निर्देशन 

Trulli
ADVERTISEMENT

रूपन्देही–गृहमन्त्री बालकृष्ण खाँणले मुलुकका कुनै पनि उद्योगी व्यवसायीलाई दुःख नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।  कांग्रेस सिद्धार्थनगर नगर समिति रूपन्देहीले भैरहवामा आयोजना गरेको अन्य पार्टीका कार्यकर्ता कांग्रेस प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले भने, ‘गृह प्रशासनले जनताको साथ दियो कि दिएन, यसको नागरिकले मूल्यांकन गर्नुपर्छ ।’  प्रहरी जनताको साथी भएकाले प्रहरीप्रति पनि सम्मानजनक व्यवहार हुनुपर्नेमा उनले जोड दिए । प्रहरी कार्यालयमा जाने जुनसुकै नागरिकलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्री खाँणले प्रहरीलाई निर्देशन दिए । कोभिड महामारीको रोकथाममा प्रहरी प्रशासनको महत्त्वपूर्ण योगदान रहेको उनले बताए ।

 

‘महामारीका बेला अग्रपंक्तिमा रहेर काम गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सफाइकर्मी, स्वास्थ्यकर्मीलगायत सबैलाई सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छौँ,’ उनले भने ।


कोभिड महामारी केही सहज भए पनि पूर्ण जोखिम अन्त्य नभएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्न उनले आग्रह गरे । सुरक्षाकर्मीले कोरोना महामारी, विपद् प्रभावितको सेवामा अग्रपंक्तिमा रहेर सेवा गर्दै आए पनि पर्याप्त सेवा–सुविधा दिन नसकिएको गृहमन्त्रीले खाँणले स्वीकारे ।  शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि गरिएको उनले जानकारी दिए ।


‘सरकारले उपलब्ध गराएको सेवा–सुविधा सबै प्रहरी जवानले पाउनुपर्छ,’ गृहमन्त्री खाँणले भने । अधिकृतका लागि मात्र नभई प्रहरी जवानका लागिसमेत सेवा–सुविधा बढाउने काम अगाडि बढेको उनले जानकारी दिए ।


कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता खाँणले पार्टीभित्र आन्तरिक स्पर्धा भए पनि एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा कांग्रेस रूपन्देहीका सभापति अब्दुुल रज्जाकले मुलुकमा संकट आउँदा समस्या समाधानका लागि कांग्रेस सधैँ अगाडि आएको स्मरण गरे ।


कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिलीपकुमार कान्दु, कार्यसमिति सदस्य सञ्जय बेरीवाल, पूर्ववडाध्यक्ष भरतसिंह बिजुक्छे, रूपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्तासहित विभिन्न पार्टी परित्याग गरी ८०० बढी पार्टीमा प्रवेश गरेको कांग्रेस सिद्धार्थनगरका सभापति कोसिसबहादुर खड्काले जानकारी दिए । 


बेरीवाल गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा उम्मेदवार बनेका थिए ।कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री वसिउद्दीन खाँ र कांग्रेस सिद्धार्थनगरका बुथ सभापतिलाई सम्मान गरिएको थियो ।