close

सञ्चालनको तयारीमा सीजी सिमेन्ट उद्योग

सञ्चालनको तयारीमा सीजी सिमेन्ट उद्योग

Trulli
ADVERTISEMENT

पाल्पा– पाल्पाको रैनादेवी छहरा–२, सर्देवाफाँटमा निर्माणधीन सीजी सिमेन्ट उद्योग आगामी महिनादेखि सञ्चालनम आउने भएको छ । दैनिक चार हजार मेट्रिक टन क्लिङ्कर र तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त सीजी सिमेन्ट उद्योग पाल्पा प्रालिको निर्माण कार्य अन्तिम चरणमा छ ।

 

‘हालसम्म यो प्रोजेक्टको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । आगामी महिनाभित्र उद्योगको काम सक्ने लक्ष्य राखेका छौँ,’ प्रोजेक्टका प्रमुख यशपाल शर्माले भने । उद्योग सञ्चालनसम्ममा १२ अर्ब ७३ करोड रुपियाँ लगानी पुग्ने प्रोजेक्ट प्रमुख यशपाल शर्माले जानकारी दिए । चार वर्षदेखि सर्देवाफाँटमा उद्योग निर्माण गर्ने काम हुँदै आएको छ ।

 

यो उद्योगले सर्देवाफाँटमा करिब ४२० रोपनी जग्गा लिएको छ । उद्योगका लागि आवश्यक थप जग्गा लिने काम भइरहेको सो उद्योगले जनाएको छ । १० वर्षअघि सीजी सिमेन्ट प्रालिले रिब्दीकोटको देउरालीस्थित डम्बकफाँटमा ४०० रोपनी जग्गा लिइसकेको थियो । उक्त स्थानमा उद्योग स्थापना तथा सञ्चालन गर्न प्राविधिक रूपमा उपयुक्त नभएपछि उद्योग स्थापनामा ढिलाइ भएको थियो ।

 

सिमेन्ट उत्पादनका लागि आवश्यक चुनढुङ्गा उत्खननका लागि समेत सो उद्योगले रैनादेवी छहराको सिद्धेश्वर र रिब्दीकोटको देउराली, ख्याहा क्षेत्रमा अनुमति लिने प्रक्रियामा रहेको छ । क्लिङ्कर र सिमेन्ट उत्पादनका लागि आवश्यक रातो माटो, कोइलासमेत जिल्लाभित्रै खोजी भइरहेको उनले जानकारी दिए ।

 

उद्योग स्थापनापछि ४०० भन्दा बढीले रोजगारी पाउने उद्योगको भनाइ छ । अहिले पनि प्रत्यक्ष र परोक्ष रूपमा २०० भन्दा बढीले काम पाइरहेको प्रोजेक्ट प्रमुख शर्माले जानकारी दिए । उद्योग सञ्चालनका लागि आठ मेगावाट विद्युत् आवश्यक पर्ने बताइएको छ । ‘उद्योगका लागि आवश्यक पर्ने विद्युत् जडानका लागि हामीले प्राधिकरणमा निवेदन दिइसकेका छौँ,’ उद्योगका प्रबन्धक नारायण पाण्डेयले भने ।

 

उद्योगबाट उत्पादित क्लिङ्कर र सिमेन्ट नेपालकै बजारमा जाने र हालसम्म विदेशमा निर्यात गर्ने लक्ष्य नराखेको पाण्डेयले बताए । क्लिङ्कर र सिमेन्ट उत्पादनपछि नेपाललाई क्लिङ्कर र सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनाउन र आयात घटाउन सहयोग पुग्ने सो उद्योगको दाबी छ । पाल्पाको तिनाउ, रैनादेवी छहरा, निस्दी र माथागढीमा गरी हाल १० वटा चुनढुङ्गा खानी सञ्चालनमा छन् । ती अधिकांश खानीको चुनढुङ्गा रुपन्देही, नवलपरासीलगायतका स्थानमा सञ्चालित उद्योगले प्रयोग गरिरहेका छन् ।