close

नगरप्रमुख जोडिएको किर्ते नागरिकता प्रकरण : छानबिन समिति गठन

नगरप्रमुख जोडिएको किर्ते नागरिकता प्रकरण : छानबिन समिति गठन

Trulli
ADVERTISEMENT

पर्सा- नागरिकता किर्ते प्रकरणमा जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन समिति गठन गरेको छ । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन गरिएको हो । नागरिकता किर्ते प्रकरणमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

नागरिकता किर्ते प्रकरणको बारेमा  ५ दिन भित्रमा अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । रूबीना श्रेष्ठको नागरिकतासम्बन्धी हराएको प्रमाणको फाइल समितिले फेला पारी जाँचबुझ अगाडि बढाइसकेको जनाइएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार समितिले नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेललाई बयानका लागि बोलाइएको एक कर्मचारीले बताए । तत्कालीन प्रशासकीय अधिकृत पोखरेलले राजेशमान सिंहलाई बाबुका रूपमा सनाखत गराएर नागरिकता वितरण गरेको अनुसूची फारम भने अहिलेसम्म फेला परेको छैन ।

‘आमा बाबुको विवरण खुलाइएको फारम अझै भेटिएको छैन, जन्म दर्ता समेत रेकर्डबाट हटाइएको देखियो,’ भुसालले भने, ‘आन्तरिक अनुसन्धान सकिए पछि नगरप्रमुख सिंहलाई बयानका लागि बोलाइने छ ।’ 

नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंह सहित उनको नागरिकता नम्बर ३४१६०३८१७ उल्लेख छ । बुवाको प्रमाणको रूपमा सिंहकै नागरिकताको प्रतिलिपि पेस गरिएको छ । नागरिकतामा बाबुको नाम लेखिए पनि आमाको नाम भने उल्लेख गरिएको छैन । 

नागरिकता प्रकरणमा विभिन्न दलहरूको विरोधपछि गृह प्रशासनमाथि दबाव बढ्दै गएको छ । बुधवार नगर प्रमुखले किर्ते गरेको प्रकरणको छानबिनको माग गर्दै वीरगन्जमा जुलुस प्रदर्शन भएको थियो । जुलुसपछि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहविरुद्ध थप १५ जना स्थानीय नेताहरूले संयुक्त रूपमा जाहेरी दिएका थिए ।

नक्कली बाबु बनेर नागरिकता दिएको प्रकरणमा उनी विरुद्ध वीरगन्जका सचेत नागरिकको तर्फबाट विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिएका हुन् । बुधवार वीरगन्जका सचेत नागरिक अगुवाहरूको समूहले नगरप्रमुखविरुद्ध वीरगन्ज महानगरका विभिन्न स्थानहरू प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए पछि दबाब बढ्दै गएको छ । 

जाहेरी दर्ता गराउनेहरूमा जसपाका स्थानीय नेता मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेपाली काँग्रेसका नगर सदस्य सुलतान अन्सारी, नेकपा एमालेका मधेस प्रदेश सदस्य ल्याकत अली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेश पटेल र राप्रपाका नेता जलेश्वर सर्राफलगायत रहेका छन् ।