close

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

‘नाम धेरै सुनेको तर चिनेनछु’ हात जोड्दै मेयर थापाका आँखामा हेरिरहेका तुलसीरामले केही भन्न सकेनन् । उनका सम्पूर्ण शरिरको हाउभाउले खुशी व्यक्त गरिरहेको थियो । शायद बोलेर खुशी व्यक्त गर्ने तुलसीरामसँग कुनै शब्दै थिएनन् ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

‘नाम धेरै सुनेको तर चिनेनछु’ हात जोड्दै मेयर थापाका आँखामा हेरिरहेका तुलसीरामले केही भन्न सकेनन् । उनका सम्पूर्ण शरिरको हाउभाउले खुशी व्यक्त गरिरहेको थियो । शायद बोलेर खुशी व्यक्त गर्ने तुलसीरामसँग कुनै शब्दै थिएनन् ।

Trulli
ADVERTISEMENT

सोमबार शिवराज नगरपालिकाका ज्येष्ठ नागरिक (बा—आमा)का धमिला आँखाले एकाबिहानै घरमै सेता मान्छे देखे । वल्लो—पल्लो घरका छिमेकी बाहेक घरमा यसरी कोही आउँदैनथ्यो । एक्लो मनसँगै कोरोनापछि त झन् घर पनि एक्लिएको थियो ।

७३ बर्षीय तुलसी राम गडेरिया विहान घरको आँगनमा रहेको खटियामा बसिरहेका थिए । सेतो कपडा लगाएका एक हुल मानिसहरु आफ्नै घरतर्फ बढ्दै थिए । तुलरीराम अलमलमा परे । 

‘नमस्कार बुबा’ आँखामा कालो चश्मा लगाउनेले नमस्कार गरेसँगै सेता लुगा लगाउने सबैले नमस्कार गरे । 

हात जोडेर नमस्कार त फर्काए । तर, उनको अलमल उस्तै थियो । 

‘सञ्चै हुनुहुन्छ ?’ एकजनाले सोधे । 

तुलसीरामलाई सञ्चै हुनुहुन्छ भनेर सोध्ने पनि खासै कोही छैनन् । यत्ति सोधिदिंदा पनि उनको ओइलिएको अनुहारमा एक्कासी रगत भरिएर जवान भएजस्तो देखिए । प्रतिउत्तर दिएनन्, तर अनुहारको भावबाट पुग्ने जवाफ दिइसकेका थिए । 

‘हामी सञ्चै हुनुहुन्छ भनेर सोध्न मात्र आएका होइनौं, तपाईंलाई सञ्चो छ कि छैन त भनेर चेक पनि गर्छाैं, केही समस्या रहेछ भने औषधि पनि दिन्छौं’ अर्का सेता मान्छेले प्रष्ट्याए । 

तुलसीरामले बल्ल बुझे— यिनीहरु त डाक्टर पो रहेछन् । 

लामोसमयदेखि कम्मरमा समस्या रहेको, जिउ झम्झमाउने, टाउको दुख्ने लगायतका समस्या तुलसीराम राखेपछि स्वास्थ्यकर्मीले उनको ब्लड प्रेसर, सुगर, आँखा लगायतका चेक गरे । 

चिकित्सकको टोलीमा आएका सबै तुलसीरामका लागि नयाँ अनुहार थिए । तर, आफ्नै वडा अध्यक्ष मञ्जु मिश्रालाई चिनिहाले । उपचुनावबाट वडा अध्यक्षमा निर्वाचित भएर साँढे २ बर्ष काम गरेकी मिश्रा यसपटक पनि वडा अध्यक्षमै निर्वाचित भएकी थिईन । बेलाबेलामा ज्येष्ठ नागरिकलाई काजु, किमसिम, च्यावनप्रास गाउँमा बाँडिरहेकिले पनि मिश्रलाई तुलसीरामले चिनिहाले । 

‘आफु महिला भएकोले पनि होला बा आमाको समस्या राम्ररी बुझ्छु, सेवा गर्न पदमै बस्नुपर्छ भन्ने पनि त छैन, २५ बर्षअघि विवाह भएर यो गाउँमा आएदेखि नै सेवा गरिरहेकी छु’ वडा अध्यक्ष मिश्राले भनिन् । 

स्वास्थ्यकर्मीको टोलीसँगै मेयर अजय थापा पनि छन् भन्ने थाहा पाएपछि तुलसीराम झन् दंग परे । मेयर आफ्नो घरमै आएर यसरी उपचार गरिदिन्छन् होला भन्ने उनको सोचमै रहेनछ । 

‘नाम धेरै सुनेको तर चिनेनछु’ हात जोड्दै मेयर थापाका आँखामा हेरिरहेका तुलसीरामले केही भन्न सकेनन् । उनका सम्पूर्ण शरिरको हाउभाउले खुशी व्यक्त गरिरहेको थियो । शायद बोलेर खुशी व्यक्त गर्ने तुलसीरामसँग कुनै शब्दै थिएनन् । 

‘बा आमाको सहारा बन्दै स्वास्थ्यप्रति गम्भिर भएर यो ज्येष्ठ महिना ज्येष्ठ नागरिकका लागि भनेर आज जेष्ठ ८ गते देखि एक हप्ता सबै वडाका ज्येष्ठ नागरिकहरुको घरघमा पुगेर चेकअप गर्ने, परामर्श दिने, आवश्यक औषधि दिने र थप उपचार आवश्यक भएमा नगरको निःशुल्क एम्बुलेन्सले नगर आधारभुत अस्पताल लैजाने र घरमै पुर्याईदिने गरी व्यवस्था मिलाएका छौं’ मेयर अजय थापाले भने । 

तुलसीरामकी नातिनी छेउमै बसेर हजुबुबालाई स्वास्थ्यकर्मीले चेक गरेको हेरिरहेकि थिईन् । कहिल्यै अस्पताल नपुगेका तुलसीराम ति उपकरण देखेर नै अचम्मित थिए । 

‘कतै कतै घरमा एक्लै बसिरहेका ज्येष्ठ नागरिक मात्रै भेट्यौं, उहाँहरुको एक्लोपनाको महसुस गर्यौं, हामीलाई त्यो देखेर दुःख लाग्यो तर उहाँहरु हामीलाई देखेर खुशी हुनुभयो’ स्वास्थ्यकर्मी लेखनाथ पौडेलले भने, ‘मेयर सा’बको योजना अनुसारको यो कार्यक्रममा खट्दा साँच्चै मनदेखि आनन्द आयो ।’

शिवराज नगरपालिकाका मेयर अजय थापाले ७० बर्षमाथिका ज्येष्ठ नागरिकको घरमै उपचार गर्ने यो कार्यक्रमलाई आगामी बर्ष पनि निरन्तरता दिने बताए । ‘सिंहदरबार घरघरमा लैजाने संघीयताको मूल मर्म पनि यहि हो नि हैन र?’ मेयर थापाले भने, ‘नागरिकको सेवा गर्ने अवसर मलाई मिलेको छ, कुनै वाद, विचार र सिद्धान्त भन्दा माथि उठेर यो अवसरको सदुपयोग गर्छु ।’

कहिल्यै नहार्ने—अजय अर्थात् मेयर अजय थापालाई बा—आमाको मनले पक्कै भन्यो होला, ‘बाबु, कहिल्यै कतै पनि हार्नु नपरोस् ।’