close

भ्रष्टाचार मुद्दामा स्थानीय तहका १९ जनप्रतिनिधि निलम्बित

भ्रष्टाचार मुद्दामा स्थानीय तहका १९ जनप्रतिनिधि निलम्बित

Trulli
ADVERTISEMENT

काठमाडौं - बोदेबर्साइन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंह विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएसँगै निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार नगरप्रमुख सिंहसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ’बाख्रा व्यवसायी पकेट’ कार्यक्रमका लागि बजेट विनियोजित रकममा झुटो बिल बनाई भ्रष्टाचार गरेको भन्ने उजुरीको निवेदनमा अनुसन्धान गरी आयोगले मुद्दा दायर गरेको हो । 

नगरपालिकाका नगरप्रमुख सिंह, निमित्त प्रमुख कार्यकारी अधिकृतसहित नगरपालिकाका ३ जना कर्मचारी र एक जना पूर्व वडाध्यक्षसहित ३ जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो। 

नगरपालिका पशु विकास अधिकृत अर्जुन प्रसाद यादवले सो परियोजनाअन्तर्गत ‘बाख्रा व्यवसायी पकेट कार्यक्रम’को संयोजकको जिम्मेवारीमा रहेर कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको, झुट्टा बिल भरपाई बनाउने कार्यमा संलग्न रहेको, स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेस गरेको, कार्यक्रम नै सञ्चालन नभएको भन्ने जानकारी हुँदासमेत सम्पन्न भएको भनी टिप्पणी आदेश तयार एवं निर्णयार्थ पेस गरी १४ लाख ७१ हजार ९२१ रुपैयाँ स्वीकृत गरेको जनाइएको छ । 

माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएको देखिँदा  यादवलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर सो रकम कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुलउपर हुन दाबी गरिएको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन माग दाबी  गरिएको छ ।  आयोगले माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

त्यस्तै, कपिलवस्तुको विजयनगर गाउँपालिका-४ का वडाध्यक्ष तिलकराम कँडेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ  । बिजयनगर गाउँपालिका वडाध्यक्ष कँडेलले बिजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफै हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा उनलाई आयोगले ६ लाख १० हजार रुपैयाँ हिनामिना गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो । 

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ दफा १७ ले निर्देशन गरे बमोजिम निजलाई उल्लिखित कसुरमा बिगो सोही ऐनको दफा  ३ (१) (ङ) बमोजिम कैद सजाय गरी ऐ. ऐनको दफा ३ (१) बमोजिम जरिवाना हुन माग दाबी लिइएको छ ।

यता, सप्तरीको राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवलाई गत वर्ष अख्तियार दुरुपयोग आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । आर्थिक वर्ष ०७३/०७४ मा राजरंगशालाको स्तरोन्नतिका लागि भएको निर्माण कार्यमा अनियमितता भएको आरोपमा उनीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको हो । उनीविरुद्ध मुद्दा दायर भएसँगै नगरप्रमुख यादव पदबाट स्वतः निलम्बित भएका छन् ।

रौतहटको फुतवा विजयपुर नगरपालिकाका नगरप्रमुख गोपाल राय निर्वाचित भएको एक महिना नबित्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । दोस्रो कार्यकालका लागि दोहोरिएका उनले लालबकैया नदीको ढुङ्गा, गिटी, बालुवाको ठेक्कामा अनियमितता गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो । ०७५ मा नगर कार्यपालिकाको बैठकको निर्णयलाई अटेर गरी आफूखुसी ठेक्का लगाएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो । 

उनीसँगै सो भ्रष्टाचारमा वडाध्यक्ष र वडा सदस्यसमेत गरी २१ जना विरुद्ध मुद्दा दायर गरिएको थियो । उनीहरुविरुद्ध आयोगले एक करोड ५३ लाख ५० हजार रकम बिगो कायम गरिएको थियो ।  

सङ्घीयता लागू भएसँगै मुलुकभर गाउँ गाउँमा सिंहदरबार पुगेको छ । यससँगै भ्रष्टाचारसमेत पुगेको छ ।  स्थानीय तह २०७९ निर्वाचित भएयता १९ जना जनप्रतिनिधि भ्रष्टाचार गरेको आरोपमा निलम्बनमा परेका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को आरोपमा मुद्दा दायर भयसँगै पद स्वतः खारेज हुने कानुनी प्रावधान बमोजिम उनीहरू निलम्बनमा परेका हुन् । 

आयोगका अनुसार पाँच वटा स्थानीय तहका अध्यक्ष तथा प्रमुख, १० जना वडाध्यक्ष र ४ जना वडा सदस्य निलम्बनमा परेका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ताविरुद्ध गत फागुनमा मुद्दा दायर भएको थियो । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय रहेका छन् । 

सप्तरीकोको अग्रिसाइर कृष्णासनरन गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष सबदुल मियाँ, धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ११ का अध्यक्ष अर्जुनकुमार, वडा नम्बर ५ का शेख एजाज रहेका छन् । विजयपुर ४ का तिलकराम कंडेल रहेका छन् । 

मोहन्याल गाउँपालिका वडा नम्बर ३ का नन्दराम गिरी निर्वाचित हुनु अघि नै भ्रष्टाचार मुद्दामा मुछिएका थिए । नुवाकोटको विदुर नगरपालिकाका वडा अध्यक्ष हरिराम भण्डारी पनि वैशाख ३० मा निर्वाचित भए पनि पदभार ग्रहण गर्न पाएनन् । 

अछामको पञ्चदेवल–विनायक नगरपालिका सुरतबहादुर रावल वडाध्यक्ष निर्वाचित भएको केही दिनमै पदमुक्त भएका थिए।  सर्लाहीको ईश्वरपुर नगरपालिका– ११ का वडाध्यक्ष रामदुलार साह दोस्रो कार्यकालको लागि निर्वाचित भए पनि स्वतः निलम्बित भएका थिए । 

भ्रष्टाचार मुद्दामा विचाराधीन भएका व्यक्ति जनप्रतिनिधिको रूपमा निर्वाचित भए पनि सो पद स्वतः खारेज हुने प्रावधान रहेकोले उनीहरू निलम्बनमा परेका हुन् । करिब १५ महिना यता ४ जना वडा सदस्य निलम्बनमा परेका छन् । निलम्बन पर्नेमा फतुवा विजयपुरका वडा सदस्य उमाशंकर साह कलवार र वडा न ७ का वडा सदस्य जिरनी देवी रहेका छन् ।

यस्तै गरी नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १३ का वडा सदस्य दिलावार कवडिया रहेका छन् । उनी कार्यवाहक वडाध्यक्ष रहेका बेला सेवाग्राहीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिकाको वडा सदस्य दोस्रो कार्यकालको लागि निर्वाचित भए पनि भ्रष्टाचार मुद्दाको कारण स्वतः निलम्बनमा परेका थिए ।