close

गाउँपालिका अध्यक्षले भ्रष्टाचार गरेकाे ठहर भएपछि पालिकाबासी स्तब्ध

अध्यक्षकाे न्यायका लागि सर्वाेच्च जाने तयारी

गाउँपालिका अध्यक्षले भ्रष्टाचार गरेकाे ठहर भएपछि पालिकाबासी स्तब्ध

अध्यक्षकाे न्यायका लागि सर्वाेच्च जाने तयारी

Trulli
ADVERTISEMENT

झापा - झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले भ्रष्टाचार गरेकाे ठहर गरेसँगै स्थानीय बासिन्दा स्तब्ध बनेका छन् । अघिल्लाे कार्यकालमा गरेकाे कामबाट दाेस्राे पटक अध्यक्षका लागि निर्वाचित भएका उनले भ्रष्टाचार गरेकाे पुष्टिभएसँगै स्थानीय बासिन्दा स्तब्ध भएका हुन् । 

उनीसँगै १० जनालाई बिहीबार विशेष अदालतले भ्रष्टाचार गरेकाे ठहर गर्दै  तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकेको छ । उनीसङ्गै १० जनालाई अदालतले २२ लाख आठ सय २३ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबीअनुसार फैसला सुनाएको हो । 

उनीसँगै गाउँपालिका पूर्वउपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोतीलाल गणेश, वडा नम्बर ६ का तत्कालीन अध्यक्ष हरिबहादुर बानियाँ र वडा नम्बर ७ का नेत्रप्रसाद उप्रेती, गाउँपालिकाका इन्जिनियर अभिशेष दास र सबइन्जिनियर विज्ञान चम्लागाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिब ४ महिना अघि मुद्दा दायर भएको थियो । 

आर्थिक वर्ष ०७४/७५ मा गाउँपालिकाको वडा नम्बर ३, ६ र ७ मा उपभोक्ता समितिमार्फत लक्ष्मीमार्ग बाटो ग्राभेल गर्दा वास्तविक कामभन्दा धेरै काम भएको नापी किताब तयार गरी नक्कली बिल बनाएर भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत असार २७ गते उनीहरु विरुद्ध मुद्दा दर्ता भएको थियो । 

सो समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणीन्द्रप्रसाद खरेल, कोषाध्यक्ष सन्तमाया सुब्बा लिम्बूलाई चार महिना कैद र चार लाख ४१ हजार नौ सय ६४ रुपैयाँ जरिवाना गरिएको जनाइएको छ ।


निर्दोष व्यक्तिलाई भ्रष्टाचार मुद्दामा फसाइयो : उपाध्यक्ष थपलिया
गाउँपालिकाकी उपाध्यक्ष अन्जुदेवी थपलियाले गाउँपालिका अध्यक्ष जयनारायण साहलाई फसाएर भ्रष्टाचार मुद्दामा मुछिएको दावी गरिन् । गाउँपालिका अध्यक्षलाई प्रतिपक्षी दलको चलखेलबाट सो मुद्दामा फसाइएको उनले पालिकाखबरलाई बताइन् । 

उनले गाउँपालिका अध्यक्ष साह आर्थिक तथा सामाजिक रुपमा सम्पन्न भएकाले भ्रष्टाचार गर्न नसक्ने जिकिर गरिन् । ‘१०० प्रतिशत उहाँलाई फसाएको हो,’ उनले भनिन्, ‘उहाँले भ्रष्टाचार गर्नु हुन्छ भन्ने कुरा कल्पना पनि गर्न सक्दिनँ ।’

उनका अनुसार गाउँपालिका अध्यक्ष साहको आफ्नै फार्मेसी सञ्चालनमा छ । ‘छोरा बुहारी डाक्टर, जग्गा जमिन धेरै भएको भएको व्यक्तिले त्यत्ति रकमको लागि भ्रष्टाचार गर्नुहुन्छ होला त,’ उनले भनिन्, ‘उहाँले गरेको राम्रो कामकै आधारमा दुई पटक स्थानीय तहको अध्यक्षमा भारी मतसहित निर्वाचित हुनुभयो।'

अदालतको साे फैसला सुनेपछि आफू कार्यालयसमेत जान नसकेको उनले बताइन् । ‘हिजो अदालतको फैसला आएपछि तनावले म विरामी जस्तै भएकी छु,’ उनले भनिन्, ‘राम्रो काम गर्दा पनि मुद्दा लाग्ने जस्तो लागेर मलाई अफिस जाने मुड छैन ।’ 

विशेष अदालतको फैसलाले अध्यक्षको पदबाट बखास्त नहुने उनले बताइन् । गाउँपालिका अध्यक्षको न्यायको लागि आफूहरु सर्वोच्च अदालतमा जाने उनले पालिकाखबरलाई सुनाइन् । ‘अदालतको फैसलापछि अध्यक्षज्यूसँग कुराकानी भएको छैन,’ उनले भनिन्, ‘हामी गाउँपालिकामा छलफल गरी सर्वोच्च अदालत जाने छौँ । गाउँपालिकाले यस विषयमा प्रेस विज्ञप्ति जारी गर्ने छ ।’ 

गाउँपालिका अध्यक्षलाई अदालतले दोषी प्रमाणित गरेसँगै आफूले कार्यवाहक अध्यक्षको जिम्मेवारी लिनु पर्ने उनले सुनाइन् । तर निर्दोष मान्छे भ्रष्टाचारमा प्रमाणित भएकाले सो पदप्रति आफू खुसी नभएकाले उनको भनाइ छ । ‘कार्यवाहक पाएकोमा म खुसी हुनुपर्ने हो । तर मलाई एक प्रतिशत पनि खुसी लागेको छैन,’ उनले भनिन् ।

अदालतको सो फैसलाले झापा पालिकाबासी स्तब्ध भएके उनले सुनाइन् । उनका अनुसार ०७४ मा उपभोक्ता समितिमार्फत लक्ष्मीमार्गमा ग्राभेलिङको काम सम्पन्न भएको थियो । तर ९ महिनापछि आएको बाढीले सो ग्राभेलिङ बगाएर लगेको उनले बताइन् । सोही सडकको कार्यको विषयमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको उनले सुनाइन् ।