close

नमुना जनप्रतिनिधि, जो सधैं श्रमदानमा भेटिन्छन्

नमुना जनप्रतिनिधि, जो सधैं श्रमदानमा भेटिन्छन्

Trulli
ADVERTISEMENT

रामेछाप - स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष निर्वाचित भएपछि निकै कम जनप्रतिनिधि यस्ता भेटिन्छन्, जो आफ्नो गाउँसमाजमा श्रमदान गर्न अघि सर्छन् । 

रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का वडाध्यक्ष सन्तोष पौडेल कहिले साबेल र कोदालो बोकेर हिँडेका भेटिन्छन् । कहिले एकल महिला र एकल पुरुषको घरमा छाना छाउँदै हुन्छन् । कहिले कसैको घरमा वाइरिङ गर्दै हुन्छन् । 

उनी कहिले सडक खन्दै हुन्छन् त कहिले बिजुलीको पोल बोक्दै हुन्छन् । अनि कहिले बिजुलीको पोल गाड्ने खाल्डो खन्दै हुन्छन् भने कहिले  तार तान्नेहरुका साथ लागेर होस्टेमा हैंसे गरिरहेका हुन्छन् । 

सरल सहयोगी स्वभावले वडाध्यक्ष पौडेललाई नमुना जनप्रतिनिधि बनाएको छ । माध्यमिक विद्यालयको प्रधानाध्यापकको जागिर बीचमै नै छाडेर उनी स्थानीय तहको राजनीतिमा होमिएका हुन् । वडाध्यक्ष निर्वाचित भएदेखि नै निरन्तर श्रमदानमा जुटिरहेका छन् । 

‘नागरिकका आवश्यकता धेरै छन्, वडा कार्यालयसँग बजेट अति न्यून हुन्छ, त्यसैले धेरै काम श्रमदानबाट नै गर्ने गरेका छौँ,’उनी भन्छन् । वडाध्यक्ष नै काम गर्न अघि सर्दा गाउँलेलाई सजिलो भएको उनले अनुभव गरेका छन् । त्यसैले सामूहिक काममा जनसहभागिता बढ्ने गरेको छ ।

'नागरिकका साना साना अपेक्षा हुन्छन् । घरमा बिजुली बलिरहोस्, सडकमा यातायातका साधन नियमित गुडिरहोस्, वडाको सिफारिस सजिलै पाइयोस्, त्यो पनि भरसक घरमा नै पाइयोस्, दीर्घरोगीको औषधि सजिलै पाइयोस्, धारामा पानी नियमित आओस्,' उनले भने, ‘जनप्रतिनिधिले के छ, कसो छ भनेर बोलाइदेओस् ठान्छन् । नागरिकका यिनै भावना सम्बोधन गर्ने प्रयत्न गर्दै काम गरिएको छ ।'

वर्षायाममा वडाध्यक्ष पौडेल प्राय गल र साबेल बोकेर हिँडिरहेका भेटिन्छन् । ‘कच्ची सडक छ, ठाउँ ठाउँमा खाडल हुन्छ चिप्लिने भएकाले गाडी चल्नै गाह्रो हुन्छ । ‘हामी जनप्रतिनिधिहरू कहाँ बाटो बिग्रिएको छ, त्यतै साबेल र कोदालो बोकेर पुग्छौं, स्थानीयले पनि सघाउँछन्, बिना पैसा समस्या समाधान हुन्छ, बाटो खुल्छ,’उनले भने । 

अहिले पौडेल लगायतको जनप्रतिनिधिको टोली गाउँमा बिजुलीको तार फेर्ने काममा खटिइरहेको छ । पुरानो जीर्ण तारका कारण बारम्बार विद्युत आपूर्ति अवरुद्ध हुने समस्या भएपछि विद्युत प्राधिकरणसँग समन्वय गरेर वडा कार्यालयको खर्चमा तार ढुवानी गरी प्लास्टिक कोटेड कालो तार फेर्ने काम भइरहेको छ । 

असोजदेखि नै जनप्रतिनिधिको टोली लगातार त्यही काममा छ । ‘दसैं अघि र दसैंतिहारका बीचमा अलिकति काम गरियो, बाँकी काम तिहारपछि लगातार गरिरहेका छौं, आज १२ दिनको श्रमदान हो,’शनिबार वडाध्यक्ष पौडेलले भने । 

वडाको सबै तार नफेरी र सबै घरमा विद्युत नपु¥याएसम्म यो कामलाई निरन्तरता दिइने उनले बताए । ‘हामी जनप्रतिनिधि सबै टोलमा पुग्छौँ, तार तान्ने, खाडल खन्ने, पोल गाड्ने काममा खट्छौं । जुन टोलमा पुग्यो त्यही टोलका स्थानीय पनि श्रमदानमा निस्किन्छन्, राम्रो सहयोग पाएका छौँ, राम्रो श्रमदान जुटेको छ,’उनले भने ।