close

३५ दिनभित्र शिशुको जन्मदर्ता गर्नेलाई चिकित्सकीय परामर्श सेवा

३५ दिनभित्र शिशुको जन्मदर्ता गर्नेलाई चिकित्सकीय परामर्श सेवा

Trulli
ADVERTISEMENT

ललितपुर – महालक्ष्मी नगरपालिकाले चालु आर्थिक वर्षबाट ‘उपप्रमुखसँग सुत्केरी भेटघाट’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रमबाट ३५ दिनभित्र शिशुको जन्मदर्ता गरिसकेपछि उनीहरूलाई डाक्टरसहितको उपप्रमुखको टोली भेटघाट गर्न जाने भएको हो । 

बालबालिकाको जन्मदर्ता नगर्दा विद्यालयमा भर्ना समस्या भएको महशुस गरेर समयमै जन्मदर्ता गर्न ‘सुत्केरी भेटघाट कार्यक्रम’ सञ्चालन गर्न लागेको उपप्रमुख लक्ष्मी महर्जनले बताइन् । उनले पालिकाखबरसँग भनिन्, ‘जन्मिने बित्तिकै बालबालिकाको जन्मदर्ता नगर्दा बुवाआमा सम्बन्ध टुट्ने र जन्मदर्ता नै बनाउन नसकेको समस्या देखेँ । जन्मदर्ता बनाउनको लागि प्रोत्साहन गर्न पनि यो कार्यक्रम सञ्चालन गर्न लागेका हौँ ।’ 

चालु आर्थिक वर्ष २०८०/०८१ बाट लागु गर्ने गरि योजना बनाइएको उनले जानकारी दिइन् । उपप्रमुखसँग सुत्केरी भेटघाटको लागि कार्यविधि भइरहेको उनले बताइन् । उनका अनुसार प्रत्येक वडामा पुगेर भेटघाट गरिने गरि कार्यविधि तयार गरिँदै छ । 

उनले भनिन्, ‘भेटघाटमा जाने भएपछि रित्तै हात त जाँदैनौ । सुत्केरीको लागि कोसेली लिएर जान्छौँ ।’ शिशुको जन्मदर्ता गरिसकेका सुत्केरीलाई पोषणयुक्त खानेकुराको प्याकेजसहित भेटघाट गर्नेे उनले बताइन् । 

सुत्केरी भेटघाटमा जाँदा डाक्टरलाई पनि साथमै लिएर जाने उनले बताइन् । उनले भनिन्, ‘डाक्टरले उनीहरूको अवस्थाबारे बुझ्ने र परामर्श दिने गर्छन् ।’ सो कार्यक्रमको सञ्चालनका लागि चालु आर्थिक वर्षमा करिब ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख महर्जनले जानकारी दिइन् । उनका अनुसार यही आवमा नै कार्यक्रम सुरु गरिने छ ।