close

नगरप्रमुख आफैंले एम्बुलेन्समा बिरामी ओसार्छन्

नगरप्रमुख आफैंले एम्बुलेन्समा बिरामी ओसार्छन्

Trulli
ADVERTISEMENT

मुगु- चिट्टिक्क परेकाे ढाकाटोपी र रातो गलबन्दी लगाएर तस्बीरमा स्टरिङ गुमाउँदै गरेका व्यक्ति एम्बुलेन्सका वास्तविक चालक हाेइनन्। उनी हुन् एम्बुलेन्स चलाउनकै लागि लाइसेन्स निकालेका छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम । 

नगरप्रमुख भाम आफैँले यो हप्ता ४ पटकमा ४ जना बिरामीलाई अस्पताल पुर्‍याइसकेका छन् । बिहीबार, शुक्रबार र शनिबार गरी बलीबहादुर भाम, हिउँकला भाम, आइतुकला बोहरा र लोकबहादुर भामलाई आफैँले एम्बुलेन्समा अस्पताल पुर्‍याएको नगरप्रमुख भामले पालिकाखबरसँग बताए । उनले भने, 'सर, म अहिले नगरप्रमुखको कुर्सीमा बसेर सेवा गर्दैछु । बिहान र बेलुका भइपरी आउँदा आफैँ एम्बुलेन्स चलाउँछु । मैलै एम्बुलेन्सकै लागि भनेर ८ महिना अघिमात्र लाइसेन्स निकालेँ ।'

नगरप्रमुख भामका अनुसार नगरपालिकामा एक जनामात्रै एम्बुलेन्स चालक छ । एम्बुलेन्स चालक बिदामा बस्दा वा चालकले नभ्याउँदा नगरप्रमुख आफैंले एम्बुलेन्स हाँक्ने गरेको उनी बताउँछन् । समृद्ध छायाँनाथ रारा नगरपालिका बनाउन सरसफाई अभियान, श्रमदान अभियानलगायतका विभिन्न अभियान सञ्चालन गर्दै आएको उनले बताए ।

खाली समयमा बिरामीहरुको उपचारको लागि अस्पतालसम्म लैजान सहयोग गर्ने र अब एम्बुलेन्स चालक बिदामा बस्दा होस् वा आफ्नो खाली समयमा बिहान–बेलुका आफैँले एम्बुलेन्स हाँकेर बिरामीलाई सेवा दिइने उनले प्रतिबद्धता जनाए । 

साथै उनले चुनावताका नै सेवासुविधा नलिने घोषणा गरेको स्मरण गर्दै पालिकाखबरलाई भने,'मेरो ५ वर्षको सेवा सुविधाले ३ वटा एम्बुलेन्स आउछ होला । २ वटा चाहि नगरपालिकालाई दिन्छु । एउटा चाहि आफै हाँकेर सेवा गर्ने विचार गरेको छ ।' उनले आफ्नो कार्यकाल सक्नेबेला उक्त प्रतिबद्धताअनुसारको एम्बुलेन्स खरिद गर्ने बताएका छन् ।