close

काेसेलीसहित उपाध्यक्ष सुत्केरीकाे घरमा पुगेपछि...

काेसेलीसहित उपाध्यक्ष सुत्केरीकाे घरमा पुगेपछि...

Trulli
ADVERTISEMENT

स्याङ्जा– कोसेलीको झोला र स्वास्थ्यकर्मीको टोलीसहित फेदीखोला गाउँपालिकाकी उपाध्यक्ष देउकुमारी गुरुङ सुत्केरी महिला भएका घरघरमा पुग्छन् । उनले त्यहाँ पुगेर आमा बच्चाको पोषण अवस्था मात्र बुझ्दिनन् उनीहरुको परिवारसँग पोषण र बच्चाको स्याहारका विषयमा कुरा गर्छिन् । 

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ बाट सुरु गरेको ‘उपाध्यक्षसँग सुत्केरी पोषण’ कार्यक्रम अन्तर्गत सुत्केरीहरूको अवस्था बुझ्न उनी सुत्केरीको घरघरमा पुगेकी हुन् । यहि माघ १५ र १६ गते पालिकाको तीनवटा वडाका सुत्केरी महिला र उनको परिवारसँग भेटघाट गरेको उपाध्यक्ष गुरुङले बताइन् । फेदीखोलाको पाँचवटा वडामध्ये बाँकी वडामा सुत्केरी महिलासँग भेटघाट गर्ने कार्यक्रम यहि माघ २१ गते रहेको उनले जानकारी दिइन् । 

उनले पालिकाखबरसँग भनिन्, ‘यस वर्षबाट कार्यक्रम सुरु भएको भएका कार्यविधि बनाउँदा घरघरमा जाने काम सुरु गर्न ढिलो भयो । ४५ दिन भित्रका सुत्केरीहरूसँग भेटघाट गर्न लागेका हौँ।’ यसपटक भने चालु आर्थिक वर्षभित्र सुत्केरी भएका महिलाहरुको घरमा स्वास्थ्यकर्मीसँगै पुगेको उनले बताइन् । 

घरघरमा पुगेर गाउँपालिकाको तर्फबाट कोसेली झोला दिनुको साथै बच्चा र आमाको स्वास्थ्य अवस्था, पोषण र सरसफाइको विषयमा जानकारी लिएको उनले जानकारी दिइन् । ३ केजी चामल, १ केजी चना, २ केजी दाल, ३० वटा अण्डा, १ प्याकेट आयोडिन नुन र १ केजी स्याउ , २ वटा हात धुने साबुन, १–१ वटा दन्त मञ्जन र ब्रस राखेको झोला सुत्केरीलाई कोसेलीस्वरुप दिइएको थियो । 

भेटघाटको क्रममा सुत्केरी महिला तथा परिवारबाट राम्रो प्रतिक्रिया पाएको उनले बताइन् । ‘हामी घरमै पुगेर कोसेली दिँदा उहाँहरु खुसी हुनुभयो,’ उपाध्यक्ष गुरुङले बताइन् । सुत्केरी र बच्चाको अवस्था पनि राम्रो रहेको पाइएको उनले सुनाइन् । 

‘नियमित बच्चालाई खोप लगाइराखेको, गर्भावस्थामा नियमित आइरन चक्की खाएको, बच्चाको तौल गरिरहेको, पूर्ण स्तनपान गरिरहेको पायौँ ।’ समग्रमा पालिकाभित्रका सुत्केरी र बच्चाले राम्रो पोषण पाएको उनले बताइन् । गाउँपालिकामा शत प्रतिशत संस्थागत सुत्केरी हुने गरेको उनले जानकारी दिइन् । 

अब प्रत्येक ४५ दिनमा हरेक वडामा पुग्ने उनले सुनाइन् । पहिलोपटक सुत्केरीको घरघरमा पुगिरहँदा गाउँपालिकाको उपस्थितिले सुत्केरी र बच्चाको पोषणमा राम्रो प्रभाव पार्ने महसुस गरिएको उनले बताइन् । 

घरघरमा पुगिरहँदा बच्चाको जन्म भएको ३५ दिनभित्र जन्मदर्ता गर्न समेत प्रोत्साहन गर्दै आएको उनले बताइन् । ‘दलित समुदायमा पोषण भत्ता पाउन भएपनि समयमै दर्ता गर्ने देखियो । अरुले समयमा नै जन्मदर्ता गराउनुभएको छैन ।’ बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराउँदा निःशुल्क जन्मदर्ता गराउने कुरा समेत जानकारी गराएको उनले बताइन् । 

‘उपाध्यक्षसँग सुत्केरी पोषण’ कार्यक्रमका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।