close

एउटै पार्टीका जनप्रतिनिधि दुई गुटमा विभाजित हुँदा विकासका काम शून्यजस्तै

एउटै पार्टीका जनप्रतिनिधि दुई गुटमा विभाजित हुँदा विकासका काम शून्यजस्तै

Trulli
ADVERTISEMENT

सर्लाही-  बसबरिया गाउँपालिकाका  जनप्रतिनिधिहरू दुई गुटमा विभाजित हुँदा विकास निर्माणकाे कार्य ठप्प मात्रै हाेइन्, मुद्दासमेत व्यहाेर्दै आएकाे छ । गाउँपालिकामा हाल केही ठूलाे याेजना मात्रै सञ्चालनमा आए पनि उपभोक्तासमितिमार्फत हुने विकासका काम ठप्पजस्तै छन् । 

नेपाल विद्युत प्राधिकरण सहयोग सिँचाइको लागि भइरहेको दुई करोड ३८ लाखको पोल गाड्ने र विद्युत जडान तथा एउटा सडकको कालोपत्रेबाहेक अन्य विकासका काम हुन नसकेको गाउँपालिका अध्यक्ष रामसिंहासन राय स्वीकार गर्छन् ।

बसबरिया गाउँपालिकामा जनता समाजवादी(जसपा)को बहुमत छ । गाउँपालिकामा निर्वाचित ३२ र मनोनित २ गरी ३४ जना सदस्यमध्ये जसपाबाट निर्वाचित १७ र मनोनित २ जना गरी १९ जना छन् । एक जना जसपाकै जनप्रतिनिधिको निधन भएको हुँदा हाल पनि जसपासँग १८ जना छन् । नेपाली कांग्रेसका १० जना र नेकपा एमालेका ३ जना र माओवादीका २ जना छन्

उनले पालिकाखबरसँग भने,‘आफ्नै पार्टीका साथीहरूले गत असार १० को गाउँसभालाई अवैधानिक भनी मुद्दा हालेर काम गर्न दिएनन् । मुद्दाको फैसला ढिलो भएको र चिसोका कारण ठूलाबाहेक साना विकासका काम भएको छैन । अब श्रीपञ्चमीपछि मजाले काम हुन्छ ।’

जसपाबाट निर्वाचित उपाध्यक्ष सरिताकुमारी लगायतले बेरितपूर्वक गाउँसभा गरिएको भन्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका थिइन् । तर उच्च अदालत जनकपुरका न्यायाधीशद्वय डालकुमार खड्का र सागर बिष्टको संयुक्त इजलाशले गत भदौ १९ गते सो रिट निवेदन खारेज गरी कातिक १९ गते फैसलाको पूर्णपाठ आइसकेको छ ।

उच्च अदालतले रिट खारेज गरे पनि जिल्ला अदालत सर्लाहीमा किर्ते मुद्दासम्बन्धी मुद्दा अझै नसकिएको उपाध्यक्ष सरिताको भनाइ छ । नेपाली कांग्रेसबाट वडा नम्बर २ का महिला सदस्यमा निर्वाचित सुनैना देवी सहनीको किर्ते हस्ताक्षर गरी गाउँसभामा बहुमत पुर्‍याइएको उपाध्यक्षको आरोप छ । सोही आधारमा सुनैना देवीले जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । 

जनता समाजवादीको आन्तरिक विवादका कारण विकासे काम हुन नसकेकोमा उपाध्यक्षले 'अध्यक्षले किन काम गर्न सकेनन्' भन्दै पालिकाखबरलाई स्थलगत रिपोर्टिङ गर्न आग्रह गर्दै भनिन्, ‘आफ्नै पार्टीको भए पनि गलत काम गर्नेलाई समर्थन गर्नू ?’ आफूलाई जनताले राम्रो काम गर्न पालिका सरकारमा पठाए पनि अध्यक्षले पारदर्शी र कानुनसम्मत काम नगरेको उनको जिकिर छ । सोही कारण विवाद रहेको उनको भनाइ छ ।

गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर-३ का पूरै टिम, नेकपा एमालेबाट निर्वाचित वडा नम्बर-६ का वडाध्यक्षसहितका सदस्य र नेकपा माओवादीबाट निर्वाचित वडा नम्बर-२ का वडा सदस्यहरूको समर्थन रहेको गाउँपालिका अध्यक्ष रायको भनाइ छ । तर आफ्नै पार्टीका १० जना गाउँसभा सदस्य आफ्नै विपक्षमा रहँदा काम गर्न नसकेको गाउँपालिका अध्यक्षको भनाइ छ । 

संघीय संचरनाअनुसार गाउँपालिका निर्माण हुँदा एउटै गाउँपालिका दुई निर्वाचन क्षेत्रमा विभाजित भएको गाउँपालिकाले जनाएको छ । पालिकाले दुई निर्वाचन क्षेत्र ओगट्दा एउटै पार्टीका दुई गुट भएको गाउँपालिका अध्यक्ष रायको भनाइ छ ।

बसबरिया गाउँपालिका सर्लाही निर्वाचन क्षेत्र-३ र सर्लाही निर्वाचन क्षेत्र-४ गरी दुई निर्वाचन क्षेत्रभित्र परेको थियो । दुई निर्वाचन क्षेत्रको असरले एउटै पार्टीभित्र गुटबन्दी भएको अध्यक्ष रायको दाबी छ । सर्लाही निर्वाचन क्षेत्र-३ मा गाउँपालिकाको वडा नम्बर १, २ र ३ पर्छ । सर्लाही निर्वाचन क्षेत्र-४ मा बसबरियाको वडा नम्बर ४, ५ र ६ पर्छ । 

गाउँपालिका अध्यक्ष रामसिंहासन राय सर्लाही निर्वाचन क्षेत्र-४ बाट निर्वाचित भएका हुन् भने गाउँपालिका उपाध्यक्ष सरिता कुमारी सर्लाही निर्वाचन क्षेत्र-३ बाट निर्वाचित जनप्रतिनिधि हुन् । गाउँपालिकामा विकासका काम हुन नसके पनि शिक्षक र कर्मचारीहरूको तलब, पाठ्यपुस्तक र दिवा खाजाको रकमसँगै सामाजिक सुरक्षाभत्ता र औषधि खरिदका काम भने नरोकिएको सूचना तथा संचार प्रविधि अधिकृत  सुजित कुमार कर्ण बताउछन् ।