close

कामै नसकी रकम भुक्तानी गरेकाे आरोपमा तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कामै नसकी रकम भुक्तानी गरेकाे आरोपमा तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Trulli
ADVERTISEMENT

सप्तरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वेसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

खत्वेका साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवसहित ११ जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

वडा नम्बर ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण रंगरोगन तथा व्यवस्थापनसम्बन्धी कार्य अधुरो छाडेको तथा कुनै कामै नगरी रकम हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रमुख प्रशासकीय अधिकृत यादव र इन्जिनियर खुर्सेद इक्रामले कम काम गरी बढी काम गरेको भनी तयार गरेको प्राविधिक मूल्याङ्कनसहितको नापी किताब तयार गरेका थिए ।

साथै उनीहरूले कार्य सम्पन्न प्रतिवेदन पेश गरी भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी ११ लाख १९ हजार ९४९ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी तत्कालीन लेखा प्रमुख सोनुकुमार सोनी, तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन समितिको संयोजक तीर्थमाया खत्वे, योजना अनुगमन समितिको सदस्यहरू दुर्गानन्द यादव, वीरेन्द्रकुमार यादव, भोगनन्द महत्मान यादव र रमानन्द चौधरीविरुद्ध पनि मुद्दा दायर भएको प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उपभोक्ता समितिका अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्री देवीलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।