close

इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुना कला प्रदर्शनीमा

इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुना कला प्रदर्शनीमा

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चित्र कोर्ने कलाकारका आँखामा काठमाडौंको भव्यता अतुलनीय रहेको बताएकी छिन् । इन्द्रजात्रा अवलोकन गर्न आएका स्वदेशी विदेशी अतिथिलाई ‘हाम्रो राम्रो उपत्यका’ कला प्रदर्शनी उद्घाटन तथा अवलोकन कार्यक्रममा उनले यस्तो बताइन् । नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) ववरमहलमा असोज १३ देखि २३ सम्म हुने प्रदर्शनीअन्तर्गत असोज १२ गते विशेष प्रदर्शनी गरेर अवलोकन गराइएको हो । 

प्रदर्शनी उद्घाटन गर्दै डंगोलले छोटो अवधिका लागि आएका अतिथिलाई काठमाडौंका सबै ठाउँमा घुम्न लैजान कठिन भएकोले उपत्यकाको प्रकृति र संस्कृतिका विषयमा कलाकारले कोरेका तस्विर प्रदर्शनी गरिएको जानकारी दिइन् । ‘कलामा काठमाडौँलाई अनेक कोणबाट नियाल्न मिल्छ । यसबाट सम्पदा संरक्षणमा काम गर्नेहरुका लागि थप सिर्जनात्मक आयाम प्राप्त भएको छ,’ उनले भनिन्, ‘चित्रकलामार्फत काठमाडौंको संस्कृति र प्रकृतिलाई प्रवर्धन गर्ने उद्देश्यले कला परिषदसँग महानगरपालिकाले सहकार्य गर्नेछ ।’

परिषदमा ४५ जना कलाकारका ६१ वटा चित्र प्रदर्शनमा राखिएका छन् । जीवनका अनुभूतिहरु, प्रकृति र सम्पदाको गरिमा, भैरव र शिवका अभिव्यक्तिहरु रङ्गको प्रयोगबाट गरिएको जीवन्त प्रस्तुति प्रदर्शनको मुख्य विशेषता हो ।