देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) विराटनगरमा वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन विराटनगर महानगरको अपिल, फोहोर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध ।
२) झापाको दमक नगरपालिका- ३ का वडा अध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट बनाइदिए एक विपन्न परिवारलाई पक्की घर, घर पाउँदा ९४ वर्षीया धनमाया लामिछाने दंग ।
३) पोखरा महानगरपालिकाद्वारा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन सुरु, विवरण दर्ताका लागि वडा कार्यालयबाटै सेवा ।
४) सर्लाहीमा मालपोतका नायव सुब्बा र लेखापढी व्यवसायी ११ हजार रुपैयाँ घुससहित पक्राउ, पक्राउ पर्नेमा वेदनिधि बराल र हरिवन नगरपालिका- २ का रामसुन्दर महतो ।
५) ललितपुरका विद्यालयमा ललितपुर महानगरका नगर प्रहरीले सिकाउन थाले ट्राफिक नियम, सडक दुर्घटनाका कारण हुने क्षति कम गर्न नगर प्रहरी सक्रिय ।
६) बेरुजु रकमको हिसाब माग्न पुगेका वन समितिका सदस्यलाई दैलेखको आठबिस नगरपालिका- ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्यायद्वारा कुटपिट, रकम असुली गरिदिन माग गर्दै डिभिजन वन कार्यालयमा निवेदन दर्ता ।
७) पाँचथरमा श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला, मृतक हिलिहाङ गाउँपालिका- ५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी ।
८) नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिकाकाको दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले बनाएको अस्थायी पोस्ट हटाए, नेपालीले विरोध गरेपछि एसएसबी पोस्ट हटाउन बाध्य ।
९) दार्चुलाको मालिकार्जुन गाउँपालिकामा नमुना फलफूल क्षेत्र विकास कार्यक्रम संचालन गरिने, गाउँपालिका र कृषि ज्ञान केन्द्रबीच सम्झौता ।
१०) मोरङको विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ, पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- १ का ३३ वर्षीय शिवनारायण साह ।
११) कञ्चनपुरको पुनर्वास नगरपालिकाका सुकुम्वासी आन्दोलित, आफूहरूले भोगचलन गर्दै आएको जमिनको लालपुर्जासहित व्यवस्थित बसोवासको माग ।
१२) बाजुराको खप्तड छेडेदह गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखे पत्र, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहबाट १ लाख पत्र संकलन गरेर प्रधानमन्त्रीलाई बुझाउने अभियान ।
१३) सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले प्रहरी भर्ना गर्ने, प्रहरी भर्नाका लागि दरखास्त दिन आह्वान ।
१४) पर्यटकीय स्थलहरूको एकीकृत सूची तयार गर्दै ताप्लेजुङको मैवाखोला गाउँपालिका, प्रचारप्रसारका लागि विभिन्न सामग्री प्रकाशन तथा वितरण गर्ने पालिकाको योजना ।
१५) उदयपुरको कटारी नगरपालिकाको त्रिवेणीमा १ माघदेखि १५ माघसम्म त्रिवेणी मेला लाग्ने, मेला न्यूनतम स्वास्थ्य मापदण्ड पूरा गरी संचालन गर्नुपर्ने नगरको निर्णय ।
१६) झूटो विवरण पेस गरेर नागरिकता निकाल्ने स्याङ्जाकी एक महिला धरानबाट पक्राउ, नागरिकताका लागि सिफारिस गर्ने धरान उपमहानगरपालिका- ९ का वडा अध्यक्ष रत्न कटवालविरुद्ध अदालतबाट पक्राउ पुर्जी ।
१७) भारत लैजाने क्रममा इलामबाट संखुवासभाको मकालु गाउँपालिकाका ३ किशोरीको उद्धार, उद्धार गरिएका ३ जना किशोरीलाई प्रहरीले परिवारको जिम्मा लगायो ।
१८) जग्गाको स्वामित्वका लागि लामो समयदेखि संघर्ष गर्दै आएका बझाङको जयपृथ्वी नगरपालिका- ८ का दलित परिवारको जग्गा गैरदलितले फिर्ता गर्ने सहमति, एक साताभित्र जग्गा दर्ता गरेर दलितहरूका नाममा लालपुर्जा दिन प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको मालपोत कार्यालयलाई निर्देशन ।
१९) गाउँमै प्राविधिक उत्पादन गर्दै गुल्मीको मुसिकोट नगरपालिका, खानेपानी योजनालाई दिगो रूपमा संचालन गर्न ग्रामीण मर्मत संभार कार्यकर्ताहरूलाई प्लम्बिङ तालिम ।
२०) निर्माण व्यवसायीको लापर्बाहीले मेची राजमार्ग दुर्घटनाको उच्च जोखिममा परेको भन्दै इलामको रोङ गाउँपालिकाका स्थानीय आन्दोलित ।