close

बागमतीका सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षक सम्मानित 

बागमतीका सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षक सम्मानित 

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुरको बागमती गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका उत्कृष्ट शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई नगदसहित सम्मान गरेको छ ।

 

पुरस्कृत हुनेमा जनजागृति माध्यमिक विद्यालय इकुडोलका शिक्षक नारायणप्रसाद सञ्जेल र कालीदेवी मावि माल्टाका प्रधानाध्यापक कुमार चौलागाईं रहेका छन् ।

 

यस्तै, उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्षतर्फ भट्टेडाँडा आधारभूत विद्यालय भट्टेडाँडाका अध्यक्ष दीपक घिमिरेलाई पुरस्कृत गरिएको छ ।

 

गाउँपालिकाले आयोजना गरेको तेस्रो शैक्षिक मेला तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अवसरमा उनीहरू सबैलाई जनही १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

 

शैक्षिक वातावरण निर्माण, भावी योजना र नतिजाको निष्कर्षमा तय गरिएका विभिन्न सूचकांकको आधारमा उत्कृष्ट पहिचान गरिएको गाउँपालिका अध्यक्ष बिरबहादुर लोप्चनले बताए ।

 

शिक्षक, प्रधानाध्यापक, विद्यालय र समितिबाट आह्वान गरिएको प्रस्ताव अध्ययनपछि छनोट गरिएको उनले जानकारी दिए ।

 

‘पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई संयोजकत्वमा गठित गाउँ शिक्षा समितिका १ जना सदस्य र शिक्षा शाखाका प्रमुखसहित ३ सदस्यीय मूल्यांकन समितिले प्राप्त प्रस्तावको अध्ययन गरेर उत्कृष्ट छनोट गरेको हो’, उनले भने । 

 

नजिकैको सरकारले गर्ने नियमनका कारण यसअघिजस्तो छलछाम गर्न नपाउने भएपछि शिक्षकका नेताहरू स्थानीय सरकारप्रति आक्रोशित हुँदै आएका छन् ।

 

गत वर्ष मावि र आधारभूत तहका गरी २ शिक्षकलाई गरेकामा यस वर्ष सम्मानको दायरा बढाइएको गाउँपालिकाले बताएको छ । 

 

‘राम्रो काम गर्नेलाई प्रोत्साहन दिँदा सकारात्मक सन्देश प्रवाह हुने तथा अरूलाई पनि राम्रो गर्न प्रेरणा मिल्ने ठहर साथ पुरस्कृत गर्न सुरु गरेका हौँ’, गाउँपालिका अध्यक्ष लोप्चनले भने ।

 

पालिकाले २ वर्षदेखि सुरु गरेको शैक्षिक मेलाको तेस्रो संस्करण अवसरमा उक्त पुरस्कार प्रदान गरिएको थियो ।

 

मेलामा २४ स्टलमा विज्ञान, प्रविधि, गणित, सामाजिक विषय प्रदर्शनी गरिएको थियो । आधुनिक ठेकीदेखि घाँस काट्ने मेसिन र शैक्षिक सामाजिक सामग्री तयार पारेर प्रदर्शन गरेका विद्यार्थी स्वयंले त्यसबारे अवलोकनकर्तालाई जानकारी दिएका थिए ।

 

बागमती गाउँपालिकाको शिक्षा प्रमुख मोहन पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय मूल्यांकन समितिले गरेको मूल्यांकनका आधारमा माध्यमिकतर्फ मेलामा सहभागीमध्ये, नारायणी मावि, गिम्दी, जनक मावि गिम्दी, कालीदेवी मावि माल्टा, शारदा शिक्षा सदन मावि इकुडोल क्रमशः प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भए । 

 

उनीहरूलाई क्रमशः ७ हजार, ४ हजार, २ हजार र १ हजार रुपैयाँ प्रदान गरिएको थियो ।


साथै, शैक्षिक मेलामा आधारभूततर्फ प्रथम विज्ञान प्रभा आधारभूत विद्यालय इकुडोल, दोस्रो सातकन्या आधारभूत विद्यालय भट्टेडाँडा, तेस्रो भट्टेडाँडा आधारभूत विद्यालय भट्टेडाँडा र सन्त्वना बालमनोरमा आधारभूत आर्शांगले प्राप्त गरेको छ । 

 

यसैगरी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि जनक मावि गिम्दीले हात पारेको छ भने दोस्रो पनि गिम्दीकै नारायणी मावि भएको छ । आर्शांगको विद्याधिश्वरी माविले तेश्रो स्थान हात पारेको छ । 


 
संविधानले विद्यालय तहसम्मको शिक्षा स्थानीय सरकार मातहत हुने व्यवस्था गरेसँगै यस पालिकाले शैक्षिक सुधारमा विभिन्न कार्य गर्दै आएको छ । स्था

 

नीय सरकार मातहत संवैधानिक रूपमा प्राप्त शैक्षिक अधिकार पूरा गर्न पालिका सक्षम रहेको सामाजिक समिति संयोजक एवं वडा नम्बर २ माल्टाका अध्यक्ष विजयकुमार लोले बताए ।

 

एउटा पनि निजी विद्यालय नरहेको पालिकाभित्रका ४७ वटा सामुदायिक विद्यालयमा ३ सय १९ शिक्षक कार्यरत छन् ।